विवाद रूचाउने तथा विवाद निम्त्याउने नेताकारूपमा परिचित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत यतिखेर कमाउधन्दाका कारण चर्चामा छन् । पछिल्ला समय डा. गोविन्द के.सी. लाई गाली गर्दै हिडेका मन्त्री बस्नेत कमाउधन्दा व्यापक सक्रिय भएको देखिन्छ । टेरामेक्स खरिदमा ठूलो लाभ लिएर नेता रिझाएको आरोपकाबीच मापदण्ड नपुगेका नर्सिङ कलेज खुलाउन लबिङ गरेको विषयमा उनी जोडिएका छन् ।
मन्त्री मोहनबहादुर बस्नेत गलत भाष्य तयार पारेर मापदण्ड पूरा गर्न नसकेकै कारण बन्द भएका नर्सिङ कलेज खुलाउन लागेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत प्रभावित पारेर चिकित्सा शिक्षा ऐन संशोधनका लागि लबिङ तीव्र बनाएका छन् । नेपाली कांग्रेसको कोटाबाट स्वास्थ्यमन्त्री बनेका बस्नेतले पछिल्लो समय फेरि लबिङ तीव्र बनाएका छन् । उनका अनुसार ऐन संशोधनका लागि मन्त्रिपरिषदमा छलफल पनि भइसकेको छ ।
‘ऐन संशोधन गम्भीर विषय हो भनेर प्रधानमन्त्रीले स्वास्थ्य मन्त्री, शिक्षा मन्त्री, दुबै मन्त्रालयका सचिव र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई राखेर छलफल गर्नुभएको छ’, बुधबार पत्रकार सम्मेलन गरेर मन्त्री बस्नेतले भने ।
पछिल्लो दिनमा मन्त्री बस्नेतले पत्रकार सम्मेलन, सार्वजानिक कार्यक्रम वा उद्घाटनमा भनिरहन्छन्, ‘देशमा स्वास्थ्य जनशक्ति चार-पाँच वर्षमा अभाव हुनेछ । अब चिकित्सा शिक्षा ऐन परिवर्तन गरेर भएपनि सिट संख्या बढाउनुपर्छ ।’ चिकित्सा शिक्षा ऐनका कारण धेरै कलेज बन्द हुँदा पढ्न नपाएको र विदेश गएर पढ्न सक्ने अवस्था नहुँदा दैनिक चार-पाँच जना विद्यार्थी डिप्रेसनमा गएर मन्त्रालयमा गुनासो गर्न आएका उनले सुनाउँदै आएका छन् ।
यसअघि मन्त्री बस्नेत स्वास्थ्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा टेरामेक्स खरिदमा घोटाला गरेर सभापति देउवापत्नी आरजुलाई समेत मनमाफिक शुभलाभ पुर्याएका भनी विवादित भएका थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयमा अर्को ठूलो घोटाला शुरु गरिसकेका छन् ।
टेरामेक्स खरिदको विषयमा उजुरी परेपछि अख्तियारबाट अनुसन्धान भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विश्व बैंकको पाँच अर्ब रुपैयाँको ऋणबाट यन्त्र र उपकरण खरिद गरेर ठूलो कमिसन हात पार्न बिचौलिया व्यापारी समूह, आरजु राणा र मोहन बस्नेतबीच कमिसन सुनिश्चित गरेर क्रमशः विभिन्न उपकरणको ठेक्का अगाडि बढाइएको छ । हालसम्म करिब ५० करोडको टेण्डर प्रकाशन भइसकेको छ । अरु क्रमशः अगाडि बढाउने लाइनमा रहेका स्वास्थ्य मन्त्रालयका एक उच्चाधिकारीले बताएका छन् ।
स्थानीय स्तरमा निर्माण गरिने ग्रामीण अस्पतालको जग्गा सुनिश्चित डिपिआर स्वीकृत नभएको अवस्था एकातिर छ भने अर्कोतिर स्थानीय तहमा पठाउनुपर्ने बजेट केन्द्रबाट नेपालीको टाउकोमा ऋणको भारी बोकाएर कमिसनको लोभमा यन्त्र र उपकरण खरिदका नाममा सक्नु नीतिगत घोटालाबाहेक अरु केही होइन । औषधिजन्य सामग्री, अस्पतालका यन्त्र र उपकरण खरिदमा ठूलो कमिसन पाइने तथा पारदर्शिता नहुने भएकाले मोहनको चाहना खरिदमा मात्र केन्द्रित छ ।
‘म इमान्दार भई पारदर्शी निणर्य गर्छु, स्वास्थ्य क्षेत्र मैले सबै बुझेको छु’ भनेर बारम्बार गफ दिइरहने मोहन काममा चाहिँ ठीक त्यसको विपरीत छन् । स्टन्टबाजी र सस्तो लोकप्रियतामा रमाउने उनले मन्त्रालयको नीतिगत काममा खासै चासो दिएका छैैनन् । विगतमा डा. रामवरण यादवको पालामा बनेको संरचना संघीयता कार्यान्वयन गर्ने नाममा जथाभावी काँटछाँट गरियो ।
संरचनागत र नीतिगत सुधार गर्न विभाग, मन्त्रालयको क्षमता अभिवृद्धि गर्नेगरी तयार भएका तर सदनबाट पास गराउन बाँकी ऐनको विषयमा उनलाई कुनै मतलब छैन । खरिद, विदेश भ्रमणजस्ता कार्यमा मात्र आफ्ना गतिविधि केन्द्रित गरेका मोहनले हरेक विदेश भ्रमणमा सचिवालयका सदस्यलाई पठाउने तथा हरेक नियुक्तिमा मोलतोल गर्न तेस्रो व्यक्ति खटाउनेलगायत कामलाई भने खुबै संस्थागत गरेको पाइन्छ ।
आरजुको आशीर्वाद र भारतीय दूतावासको आडमा स्वास्थ्य सेवा विभागको महानिर्देशक बनेकी डा. संगीता कौशल मिश्रले विभागको कार्य वातावरण तहसनहस बनाएकी छन् । करारमा रहेका सवारी चालक, कार्यालय सहयोगीलाई तनाव दिएर विभागको कार्य वातावरण नै अस्तव्यस्त बनाएकी छन् ।
कांग्रेसको मन्त्री र नेत्री आरजुको आशिष भए पनि पिए भने माओवादी मातृका दाहाललाई राखेर विभागमा वितण्डा नै मच्चाएकी छन् । विगतमा स्वास्थ्य निकायको कुनै पनि उच्च तहमा नबसेकी र लगनशील भएर कुनै काम गरेको अनुभव पनि नभएकाले अहिलेसम्म उनले कामको लय समात्न सकेकी छैनन् । विभागमा रहेका अधिकांश निर्देशक पनि उनको काम गर्ने शैली र अन्तैतिर जवाफदेहीजस्तो देखिने व्यवहारले विपक्षमा रहेका बताइएको छ । सञ्चार, समन्वय पक्ष पनि कमजोर छ ।
विकास साझेदार आफ्ना सहकर्मी, निर्देशक मातहतका अन्य कर्मचारीसँग पनि विश्वासको वातावरण कायम गर्न नसकेकी उनले ठूलाबडाको नाम लिएर मात्र स्वास्थ्य सेवा विभागको कार्यसम्पादन खै कसरी राम्रो हुने होला ?