काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा आधा झुकाउने निर्णय गरेको हो ।
करिब दुई साताअघि दुई वटा बस त्रिशुली नदीमा बगेर बेपत्ता हुँदा ६५ जना सवार यात्रुमध्ये अझैसम्म आधाभन्दा धेरैको अवस्था अज्ञात छ । सरकारले खोजी कार्य जारी राखे पनि यसमा अहिलेसम्म यसमा सवार व्यक्तिहरूको शव समेत भेट्न सकिएको छैन । तर विमान दुर्घटनामा भने सरकारले झण्डा झुकाउने निर्णय गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।
बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन् ।