काठमाडौं । काठमाडौं क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमेल्सिनाले निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै पक्षसँग अपिल गरेका छन् । बूढानीलकण्ठ–२ मा मंगलबार घरदैलो कार्यक्रमका क्रममा स्थानीय नागरिकसँग साक्षात्कार गर्दै तिमेल्सिनाले दाङ र मधेशका केही स्थानमा राजनीतिक दलका झन्डा जलाउने तथा निषेध गर्ने घटनाप्रति चिन्ता व्यक्त गरे । उनले ती गतिविधि लोकतान्त्रिक मूल्य र सामाजिक मर्यादाविपरीत रहेको बताए ।
“हाम्रो समाज वर्षौँदेखि आपसी मेलमिलाप र सद्भावमा बाँधिएको छ,” उनले भने, “राजनीतिमा विचारको भिन्नता र प्रतिस्पर्धा स्वाभाविक हो, तर एक–अर्काका आस्था तथा राजनीतिक प्रतीकप्रति अनादर प्रकट गर्नु कदापि स्वीकार्य हुन सक्दैन।” तिमेल्सिनाले उत्तेजना र निषेधको राजनीतिले लोकतन्त्रलाई कमजोर बनाउने उल्लेख गर्दै संवाद, संयम र आपसी सम्मानबाट मात्रै लोकतन्त्र परिपक्व हुने धारणा राखे ।
उनले निर्वाचनलाई “मर्यादित उत्सव” का रूपमा सम्पन्न गर्न सबै राजनीतिक दल, कार्यकर्ता र नागरिकलाई संयमित भूमिका खेल्न आग्रह गरे । “हामी समाजलाई भत्काउने होइन, जोड्ने राजनीति गरौँ,” उनले भने । काठमाडौं–४ मा चुनावी अभियान तीव्र भइरहेका बेला तिमेल्सिनाले घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएका छन्।

