काठमाडौँ । आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं. ४ को राजनीतिक समीकरणमा ठूलो फेरबदल आएको छख। ‘कैँची’ निर्वाचन चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएका केदार कार्कीले नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमिल्सिनालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
फागुन १७ गते बिहान उम्मेदवार सचिन तिमिल्सिनासँगको भेटघाटपछि कार्कीले कांग्रेसको ‘भिजन’ र तिमिल्सिनाको नेतृत्वलाई सघाउन आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । भेटका क्रममा कार्कीले क्षेत्रको विकास र सुशासनका लागि युवा नेतृत्वको आवश्यकता रहेको भन्दै सचिन तिमिल्सिनालाई जिताउन आफू पूर्ण रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उम्मेदवारी फिर्ता लिए लगत्तै कार्की आइतबार दिउँसो कपनस्थित ह्याण्डबल मैदानमा आयोजित नेपाली कांग्रेसको विशाल चुनावी सभामा पनि सहभागी भएका थिए । सोही सभालाई कांग्रेस सभापति गगन थापाले सम्बोधन गरेका थिए । सभामा कार्कीको उपस्थितिलाई कांग्रेस कार्यकर्ताहरूले निकै उत्साहका साथ लिएका छन् ।
कार्कीको समर्थनले क्षेत्र नं. ४ मा सचिन तिमिल्सिनाको पल्ला झनै भारी भएको विश्लेषण गरिएको छ । घरदैलो र चुनावी सभाहरूमा मतदाताको उल्लेख्य साथ पाइरहेका तिमिल्सिनालाई कार्कीको यो कदमले थप संगठनात्मक शक्ति र मनोवैज्ञानिक लाभ पुग्ने देखिएको छ ।

