काठमाडौं–४ को बालुवाखानी स्थित कपन ह्याण्डबल ग्राउण्ड (आकाशेधारा) मा आयोजना भएको चुनावी सभालाई सभापति गगनकुमार थापाले सम्बोधन गरेका छन् । सोही क्षेत्रमा आयोजित कार्यक्रममा कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले मतदातासँग आफ्नो धारणा राखेका छन्।
सभालाई सम्बोधन गर्दै तिमिल्सेनाले आफूलाई उम्मेदवारका रूपमा स्वीकार गरेकोमा क्षेत्रवासीप्रति आभार व्यक्त गरे।“प्रिय नेता गगनकुमार थापा उपस्थित आमसभामा यहाँहरूको उम्मेदवारका रूपमा उभिन पाउनु मेरो लागि गौरवको विषय हो,” उनले भने, “तपाईंहरूको साथ, समर्थन र विश्वासले मलाई थप जिम्मेवार बनाएको छ।”
उनले यसपटकको निर्वाचन सामान्य पाँच वर्षे नियमित चुनाव मात्र नभई विशेष महत्व बोकेको मध्यावधि चुनाव भएको उल्लेख गरे। देशमा देखिएको राजनीतिक अस्थिरता र अतिवादी सोचको बढ्दो प्रभावका बीच यस निर्वाचनले नेपालको भविष्य निर्धारण गर्ने उनको भनाइ थियो।
तिमिल्सेनाले नेपाली कांग्रेसको भूमिका अहिले झनै महत्वपूर्ण बनेको दाबी गरे। “हरेक अप्ठ्यारो अवस्थामा देशलाई मध्यमार्गी र लोकतान्त्रिक बाटोबाट अघि बढाउने इतिहास कांग्रेससँग छ,” उनले भने, “सबै पक्षलाई समेट्दै लोकतान्त्रिक मूल्यमान्यताका आधारमा देशलाई अघि बढाउनु हाम्रो विशेषता हो।”
उनले पार्टीको ऐतिहासिक विरासत स्मरण गर्दै बीपी कोइराला को नेतृत्वलाई उदाहरणका रूपमा प्रस्तुत गरे। अतिवादी धारलाई लोकतान्त्रिक मूलधारमा ल्याउने कार्य कांग्रेसले विगतमा गरेको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिने उनले बताए।
आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य स्थिर सरकार, स्पष्ट नीति र विकासमुखी नेतृत्व स्थापना गर्नु रहेको उनले स्पष्ट पारे। नीति निर्माणमा अनुभव, इतिहासको ज्ञान र भविष्यको स्पष्ट दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै उनले देश भावनाले होइन, तर्क र यथार्थका आधारमा सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरे।
महत्वपूर्ण कानुनहरू अझै निर्माण हुन बाँकी रहेको उल्लेख गर्दै तिमिल्सेनाले सक्षम र अनुभवी नेतृत्वमार्फत ती कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाए।
सभाको अन्त्यमा उनले मतदातालाई लोकतान्त्रिक, मध्यमार्गी र जिम्मेवार राजनीतिको पक्षमा निर्णय गर्न आग्रह गर्दै क्षेत्र र देशको विकासका लागि इमान्दार प्रयास गर्ने वाचा गरे।

