काठमाडौँ । गगन थापाले देशलाई घृणा र उत्तेजनाको भाषाले होइन, सहकार्य र संयमताले मात्रै सम्हाल्न सकिने बताएका छन्। आइतबार कीर्तिपुरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुक सञ्चालनका लागि ‘सफ्ट भाषा’ र टिम वर्क अनिवार्य हुने धारणा राखे।
सभापति थापाले सामाजिक सञ्जालमा भाइरल हुन कोलाहल र उत्तेजनाको भाषा प्रयोग गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै त्यसले देशलाई दिशाहीन बनाउने चेतावनी दिए। “घृणा र उत्तेजनाले मुलुक चल्दैन, मिलाएर अघि बढ्नुपर्छ,” उनले भने, “देश चलाउन एक्लैले सकिँदैन, सक्षम टिम चाहिन्छ।”
उनले निर्वाचन प्रचारका क्रममा नेता–कार्यकर्तालाई संयमित र सकारात्मक भाषा प्रयोग गर्न आग्रह गरे। “घोचपेच र उत्तेजनाको शैली हाम्रो नीति होइन,” उनले स्पष्ट पारे, “हामीले आफ्ना एजेन्डा, सिद्धान्त र योजनामार्फत मतदातासामु पुग्नुपर्छ।”
थापाले पार्टीले सार्वजनिक गरेको प्रतिज्ञापत्रलाई आधार बनाएर मतदातालाई स्पष्ट कार्यक्रम बुझाउन कार्यकर्तालाई निर्देशन दिए। प्रधानमन्त्रीका सम्भावित उम्मेदवारबीच एजेन्डामा आधारित बहस हुने अपेक्षा आफूले गरे पनि त्यो वातावरण बन्न नसकेको उनको टिप्पणी थियो।
चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा थापाको यो अभिव्यक्ति संयमित राजनीतिक संस्कृतिको पक्षमा सन्देशका रूपमा लिइएको छ।

