काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित रूपमा सम्पन्न गराउन राष्ट्रिय सुरक्षा परिषद्ले कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ।
सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको परिषद् बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको विस्तृत समीक्षा गर्दै आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको हो।
बैठकपछि रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले निर्वाचन अवधिभर मुलुकमा शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय भएको जानकारी दिए।
परिषद् बैठकमा राष्ट्रिय सुरक्षाका विद्यमान चुनौती, राष्ट्रिय तथा अन्तरराष्ट्रिय घटनाक्रमले पार्न सक्ने प्रभाव र भावी सुरक्षा रणनीतिबारे समेत छलफल भएको थियो।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए।
सरकारले फागुन २१ को निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा लिँदै मतदातालाई निर्भीक र उत्साहपूर्ण सहभागिताका लागि आह्वान गरेको छ।

