काठमाडौं । नेपाली कांग्रेसले आइतबार (२०८२ फागुन १७ गते) काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ६ वटा चुनावी सभा आयोजना गर्ने भएको छ। सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने कार्यक्रम रहेको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ।
कीर्तिपुरबाट अभियानको सुरुआत
दिउँसो १ बजे काठमाडौं–१० को कीर्तिपुरमा हुने सभालाई सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन्। सो क्षेत्रमा कांग्रेसका तर्फबाट हिमाल कार्की उम्मेदवार छन्।
ठिमी र पेप्सीकोलामा शर्माको सम्बोधन
दिउँसो २ बजे भक्तपुर–२ अन्तर्गत ठिमीमा हुने सभामा उपसभापति शर्माले सम्बोधन गर्ने तालिका छ। उक्त क्षेत्रमा कांग्रेसका उम्मेदवार कबिर राणा रहेका छन्।
त्यसपछि काठमाडौं–२ को पेप्सीकोला टाउनप्लानिङमा हुने सभालाई पनि शर्माले सम्बोधन गर्नेछन्, जहाँ कबिर शर्मा उम्मेदवार छन्।
बालाजुमा थापा र चालिसे
काठमाडौं–७ को बालाजुमा दिउँसो ३ बजे हुने सभालाई सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन्। सो क्षेत्रमा प्रमोदहरि गुरागाईं कांग्रेसका उम्मेदवार हुन्।
क्षेत्र ५ र ६ को संयुक्त सभा
दिउँसो ३:३० बजे काठमाडौं क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा आयोजना हुनेछ। काठमाडौं–५ मा महामन्त्री प्रदीप पौडेल र काठमाडौं–६ मा जिल्ला सभापति कृष्णसबुज बानिया उम्मेदवार छन्। उक्त सभालाई पनि सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्ने कार्यक्रम छ।
काठमाडौं–४ मा विशेष सभा
दिउँसो ४ बजे काठमाडौं–४ को बालुवाखानी (कपन ह्याण्डबल ग्राउण्ड, आकाशेधारा) मा हुने सभालाई सभापति थापाले सम्बोधन गर्ने तालिका रहेको छ। उक्त क्षेत्रमा कांग्रेसका उम्मेदवार सचिन तिमल्सेना छन्।
काठमाडौं–४ का मतदातालाई सभामा उपस्थित भई कार्यक्रम सफल बनाउन आयोजक चुनाव परिचालन समिति, काठमाडौं क्षेत्र नं. ४ ले अनुरोध गरेको छ।

