काठमाडौं । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । सल्लाहकार हाबी बन्दा एक साता रोकिएको मौद्रिक नीति शुक्रबार ल्याउने तयारी गरिएको हो । राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न केहीबेरपछि केन्द्रीय बैंकको बोर्ड बैठक हुने बताइएको छ ।
गत शुक्रबार सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगे पनि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडाले एक साता कुर्न भनेपछि अन्तिम समयमा आएर मौद्रिक नीति रोकिएको थियो । यसलाई कतिपयले केन्द्रीय बैंकमाथि हस्तक्षेप भएको भन्दै आलोचना पनि भएको थियो । डा खतिवडा पूर्व अर्थमन्त्री एवं पूर्वगभर्नर समेत हुन् ।
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति केन्द्रीय बैंकले सार्वजनिक गर्ने बताइएको छ।