काठमाडौं खबर साउन १२, २०८१
काठमाडौं । वार्षिक सात लाखभन्दा धेरै विदेश जाने गरेको नेपालमा विदेशबाट समेत काम गर्न श्रम स्वीकृति लिएर आउने गरेका छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर श्रम विभागका अनुसार नेपालमा काम गर्नका लागि अमेरिका, अस्ट्रेलिया जस्ता देशबाट समेत श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउनेहरुको संख्या उल्लेख्य रहेको देखिएको छ ।
विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २ हजार ६८५ जना विदेशी नागरिक श्रम स्वीकृति लिँदै नेपालमा काम गर्न आएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार, गत आर्थिक वर्ष २०८०र८१ मा उक्त संख्यामा विदेशी श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आएका हुन् । यसमा नयाँ र नवीकरण दुवै रहेको छ ।
यसरी काम गर्न आउनेहरुमध्ये विश्वका ठूला शक्तिशाली देशहरु समेत रहेका छन् । बितेको साढे ७ वर्षमा श्रम स्वीकृति लिई नेपालमा काम गर्न आउने विदेशीमा सबैभन्दा ठूलो संख्या चिनियाँको छ । उक्त अवधिमा ९ हजार ५२५ जना चिनियाँले नेपालमा काम गरेका छन् ।
त्यही समयमा बेलायतका ५७५, अमेरिकाका ४२४, दक्षिण कोरियाका ३१९, जापानका २८५, भारतका २५८, अष्ट्रेलिायका १५२, श्रीलंकाका १३६, जर्मनीका १२२, फ्रान्सका १०५ र फिलिपिन्सका १०२ जना नागरिकले श्रम स्वीकृति लिई नेपालमा काम गरेको देखिन्छ । विभागका अनुसार, हालसम्म नेपालमा श्रम स्वीकृति लिई काम गर्ने विदेशीको संख्या २० हजार ९७१ रहेको छ ।