काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको इतिहासमै पहिलो पटक महिला मुख्यसचिवको रूपमा उनलाई नियुक्त गरेको हो । कायम मुकायम मुख्यसचिव गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी वरिष्ठ सचिव थिइन् ।
२०२३ साल भदौ १५ मा तेर्हथुममा जन्मेकी गड्तौलाको हालको ठेगाना सोलुखुम्बुको सल्यान हो । २०५२ सालमा न्याय सेवाअन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बनेकी उनी धेरै लामो समय भने मुख्यसचिव बन्न पाउने छैनन् । उनी यही भदौ १५ गतेबाट अनिवार्य अवकाश प्राप्त गर्दैछिन् । उनी अबको करिब ३५ दिन मात्र उनी मुख्यसचिव रहनेछिन् ।
२०५२ सालमा शाखा अधिकृतको रूपमा निजामती सेवामा प्रवेश गरेकी उनी २०६३ कात्तिक ३ गते उपसचिव र २०७० माघ ९ गते सहसचिव बनेकी थिइन्। २०७७ कात्तिक २७ गतेदेखि उनी सचिवको रूपमा कार्यरत छिन् । भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेका थिए । उनलाई राष्ट्रिय योजना आयोगमा अतिरिक्त पद सिर्जना गरी जिम्मेवारीमुक्त गरेसँगै मुख्यसचिवको निमित्त जिम्मेवारी गड्तौलालाई दिइएको थियो ।