- डिल्लि बिसी
राजनीतिक दलले निश्चित दर्शन र सोहीबमोजिमको कार्यक्रमका आधारमा देशको समग्र विकास गर्न सक्छन् । यदि देशको राजनीतिक शक्ति सन्तुलन, भौगोलिक अवस्था, सामाजिक संरचना, आर्थिक अवस्था र सांस्कृतिक परम्परामा यथास्थितिवाद छ भने त्यसको समग्र परिवर्तन खाँचो छ ।
समातामूलक, समुन्नत समाज निर्माणका लागि सोहीबमोजिमको कार्यनीतिका आधारमा मात्रै जनमतसहितको आमूल परिवर्तन हुन्छ । यसका लागि बलियो राजनीतिक शक्तिले मात्रै जनजनमा परिवर्तन गर्न सक्छ । देशको विकास भनेको राजनीतिक शासन प्रणालीमा परिवर्तन मात्रै हैन, मानसिक चिन्तनमा पनि परिवर्तन हुन आवश्यक छ । त्यस कारण दृश्य वा भोग्य वस्तुको जनचाहनाअनुरूपको परिवर्तनसँगै जनचिन्तनमा पनि सोही अनुरुपको परिवर्तन अनिवार्य छ ।
वर्तमान राजनीतिक शक्तिबाट यस प्रकारको परिवर्तन कुनै हालतमा सम्भव नहुने आमनेपालीले मुक्त कण्ठले व्यक्त गर्न थालिसकेको अवस्था छ । नेपालमा चार तहको राजनीतिक शक्ति केन्द्रको भूमिका रहेको पाइन्छ । पहिलो, गुणात्मक परिवर्तनको नेतृत्व नेकपा (एमाले) सहितको कम्युनिस्ट शक्ति छ । दोस्रो, नेपाली कांग्रेसको नेतृत्वमा रहेको सुधारात्मक परिवर्तनको राजनीतिक शक्ति । तेस्रो, खोक्रो सत्तालिप्सासहितको धार्मिक आड, जडतासहितको शक्ति, जसमा राप्रपाजस्ता दलहरू छन् । चौथो, न त कुनै दर्शन, न कुनै भिजन नै भएका, अरू सबैको विपक्षमा बोल्ने, केही संगठित र असंगठित व्यक्ति जो जिम्मेवारीवहन गर्नेभन्दा सतही एजेण्डामा आधारित राजनीतिक शक्ति ।
यसरी नेपालको वर्तमान राजनीतिक आन्दोलनमा रहेको चारमुखे शक्तिका कारण देशमा राजनीतिक अस्थिरता देखिएको छ । स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुन सकेको छैन । देशको राष्ट्रिय एजेण्डा तय हुन सकेको छैन । दीर्घकालीन र अल्पकालीन कार्यसम्पादन छिचोलिन सकेका छैनन् ।
सबैभन्दा ठूलो खतराको सूचक राजनीतिक प्रणालीप्रतिको सतही विश्लेषणले स्थान पाउन थालेको छ । यसको अन्त्यका लागि दलको एजेण्डा बन्नेभन्दा पनि दलमा महत्त्वपूर्ण भूमिकामा रहेका सबै व्यक्तिले यस अवस्थाको गहन अध्ययन गरी निरुपणका उपाय खोज्नुपर्ने हो, त्यो हुन नसकेपछि केही व्यक्तिले यो अवस्थाको निरुपणका लागि आफूले त्यो जिम्मेवारी पूरा गर्नुपर्ने कार्यभार बनाएका कारण राजनीतिमा आशाको त्यान्द्रो देखिएको पनि छ ।
सिद्धान्त एक, संगठन अनेकको अन्त्य
नेकपा (एमाले)का महासचिव शंकर पोखरेल वर्तमान राजनीतिक दलका नेताहरूमध्येमा गहन विश्लेषण गर्ने अब्बल क्षमताका व्यक्तिको रूपमा राजनीतिक वृत्त र आममानिसमा परिचित हुनुहुन्छ । उहाँले पार्टीको आन्तरिक जीवनमा यस विषयमा विभिन्न कालखण्डमा आफ्ना तर्क, विचार र दस्तावेज तयार पार्नुभयो । उहाँद्वारा २०७८ सालमा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय महाअधिवेशनमा व्यक्त विचार आज पनि मार्क्सवादी दर्शनमा विश्वास गर्ने सबै राजनीतिक दल र व्यक्तिको बीचमा विवेचनाको विषय बनेको छ । जसमा उहाँले एकै दर्शन, रणनीति भएको राजनीतिक दलले विविध मोर्चामा संगठित हुँदा हुने नोक्सानी र पुग्ने गन्तव्यका बारेमा भन्नु भएका अंश यस्तो थियो:
आज हामी राजनीतिक रूपमा को कहाँ छौँ भन्ने कुरा आजको कार्यनीतिक प्रश्नमा रहेका मतभेदले रणनीतिक प्रश्नलाई ओझेल पार्न सक्छन् । आजको नेपाली वामपन्थी आन्दोलन जुन बाटोमा हिँड्दै छ, त्यो बाटो सही छ ? लक्ष्य एकातिर छ । उद्देश्य अर्कातिर छ । कार्यनीतिक पक्षमा रहेका मतभेदका कारणले हामी बोल्न छाडेका छौँ । हेर्न छाडेका छौँ । यस प्रकारको चिन्तनले नेपाली समाजको रूपान्तरणको हाम्रो ध्येय पूरा हुन सक्छ ? किमार्थ हुन सक्दैन ।‘
दुई वर्षपहिलाभन्दा अहिले अझै आफूलाई कम्युनिस्ट भन्नेहरूमा बेमेल छ । एकता छैन । के सिद्धान्तको अति गहन विश्लेषणका आधारमा नेपालमा सबै मतदाताले आफ्नो मताधिकार प्रयोग गर्छन् त ? अवश्य गर्दैनन् । त्यसैले एमाले महासचिवले भनेजस्तो गन्तव्य एकै भएका एक नहुनुमा राजनीतिक दर्शनको बाधकताभन्दा पनि व्यक्तिको सोच, आफूकेन्द्रित महत्त्वाकांक्षा, पदलोलुपता र आसेपासेको संगत नै हो भन्ने खुलस्त देखिन्न र ?
के वामपन्थी शक्तिहरूको एकता नेपालमा आवश्यक छ ? अवश्य छ । के एकता सम्भव छ ? निर्धक्कसाथ भन्न सकिन्छ– छ । त्यसो भए बाधक के हो त ? महासचिव पोखरेलले नै भन्नुभएको छ, ‘त्यो हो– कार्यनीतिक पक्षमा रहेका मतभेदका कारणले हामी बोल्न छाडेका छौँ ।‘ कार्यनीति कसको उपज हो । तिनै अति शीर्षस्थको हो ।
यो तहसम्मको सोच, निहित व्यवहारको गन्तव्य कहाँ छ ? केवल भष्मीकरण । के उहाँले भनेको मिलनको बाटो बन्द छ ? छैन । आगामी मितिमा हुने यी दलको आन्तरिक र आमनिर्वाचनसम्म यिनको मिलन हुनेछ । त्यसैको परिणामले यी सबै विषयको निर्क्योल गर्नेछ । त्यो कसैले सोचेजस्तो पनि हुन सक्छ वा कसैका लागि अकल्पनीय पनि हुन सक्छ । त्यसपछि स्वीकार्नुको विकल्प रहने छैन ।
दलभित्रैको जिम्मेवारी
राज्यको नीति, विधि र प्रक्रियाका आधारमा दल गठित हुनु स्वाभाविक र सहज होला । तर, यसले आफ्नो दर्शन, कार्यक्रम र विधानअनुसारको काम बाध्यकारी रूपमा गर्नुपर्छ । आज त्यो मूल कार्यबाट पन्छिँदै आफ्ना लागि दल, परिवारका लागि दल, मेरो जातका लागि दल, मेरो भेगका लागि दल, मेरो संस्कार तथा यी र यस्तै अन्तर्निहित स्वार्थसिद्धीका लागि दल, अझ भन्दा म र मेरो लागि, म संगठित भएको दलले काम गरिदिनुपर्ने जडतावादी सोचको चरम विकास र विस्तार भएको छ । म दलका लागि भन्दा पनि मेरो लागि दल भन्ने सोच, प्रवृत्ति र व्यवहार तहगत रूपमा रहेका नेता, कार्यकर्ता र अभियानकर्तामा छ ।
स्वाभाविक रूपमा यो प्रवृत्ति अत्यधिक रूपमा शीर्ष नेतृत्वमा बढी छ । यदि एउटाका लागि भए किन अनेकन मिलेर बनाउनुपर्यो दल ? नसक्ने, अवसर नपाएका, नदिइएका र साँच्चिकै नीतिगत र शासनका आधारमा विभेद भएको छ भने त्यो अन्त्य हुनुपर्छ । हैन भने दल भन्न सकिने तर अनुभूति गर्न नसकिने अवस्थामा पुग्ने निश्चित छ ।
भरौटे, कुरौटेबाट इतिहास बन्न सक्छ । त्यसैले दल देखिने, सबैलाई समेट्ने र दर्शनअनुसारको उज्यालो दिने हुनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भनेका छन् । एक कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षित गर्दै उनले भनेका छन्, ‘जनताको सुखदु:खमा यस्तरी लागोस् कि, यस्तरी भिजोस् कि, त्यो मानिसलाई भरोसा दिलाओस् । कांग्रेस उज्यालो, सफा र तेज देखियोस् । कांग्रेसको ओज देखियोस् । यत्ति हामीले गर्न सक्नुपर्छ । त्यसपछि मात्रै पार्टी ठीक ठाउँमा आउँछ ।‘
व्यवहारमा जो जसले जे भोगेका भए पनि उहाँको यो सार्वजनिक भनाइ भोगाइका आधारमा व्यक्त विचार हो भन्ने म ठान्दछु । दल गन्तव्यभन्दा बाहिर छ । दल निश्चित उद्देश्यभन्दा बाहिर छ । दल दर्शन भुल्दै छ भन्ने प्रस्ट बुझिन्छ । दल कुनै अलौकिक वा अमूर्त हैन । यो त दर्शनमा विश्वास गर्ने र विचार मिल्नेको ठाउँ हो । त्यस कारण कांग्रेसको ओज दलका सदस्यले निर्माण गर्नुपर्ने हो । दलको तेज दलका सदस्यले बनाउनुपर्ने हो । अनि मात्र बल्ल दल उज्यालो र सफा देखिन्छ ।
मौसमी एजेण्डामा दशकौँसम्म एकै दल र एकै विचारधाराका व्यक्तिले मत पाउँछन् भन्ने म ठान्दिनँ । तर, एउटा कुरा पक्का हो– निश्चित ध्येय भएका पार्टीहरू किन छिन्नभिन्न भए ? उनीहरू किन गन्तव्यभन्दा मन्तव्यकेन्द्रित छन् ? वर्तमान चिन्तनले नेपाली समाज रूपान्तर हुँदैन । अझ भन्दा किमार्थ हुँदैन भन्ने उहाँको तर्क केवल आवेशको प्रतिनिधित्व त हैन होला । यो एकै लक्ष्य, एकै ध्येय र एकै गन्तव्य भएकाहरूमा व्यवहारगत रूपमा अनेकन मोर्चा र बोलीसम्म बन्द हुनुको उपज हो ।
यसका साथै कांग्रेसभित्रका बृहत् कमजोरी सुधारका लागि अनिवार्य छ । यो सुधार गर्नैपर्छ, हुनैपर्छ र हुन्छ भन्ने पनि महामन्त्रीको विश्वास भएकै कारण यो अभिव्यक्ति आएको होला । अन्यथा तेज नभएको, उज्यालो नभएको कांग्रेसबाट समाज परिवर्तन र कांग्रेसको आदर्श समाजवादी गन्तव्य असम्भव छ भन्ने आधारमै उहाँका धारणा व्यक्त भएका होलान् ।
अन्यथा, काठमाडौंमा पार्टीको शीर्षस्थानमा बस्ने वा निर्देशन दिने भूमिकामा रहनेहरू कुनै बेला भूमिकामा थिए रे भन्नेमा हुन सक्छन् । अथवा प्राप्त जनउपलब्धि व्यर्थ हुन पनि सक्छ । राजनीति कुनै भौतिक वस्तु होइन । यो गुमनाम बनाउने वा बाकसमा ताला लगाएर राख्ने पनि हैन । केवल अरूको विरोध मात्रै गरेर जन्मिएका महानगरदेखि टोलबस्तीसम्मका प्रतिनिधिहरू अनियन्त्रित रूपमा अझै झाँगिनेछन्, कोठा कुनामा रहेका हुन् या सदनमा रहेकाहरू । यी जीवन र जगत्का लागि व्यर्थ वनमारा झार (देख्दा हरियो, फुल्दा फूल पनि हुने, न त त्यो प्राणीका लागि हुने, न पवित्र कार्यमा नै काम लाग्ने) हुन् । वनमारा झार पनि प्रकृतिकै उपज हो ।
त्यसैगरी, विचारधाराविहीन, दर्शनविहीन, जोस र झोकका भरमा बामे सरेकाहरू पनि राजनीतिका उपज हुन् । जसरी प्राणी उपयोगी प्रकृतिका सुन्दर पालुवाको विकास र विस्तार गर्दै जाँदा वनमाराको अन्त्य गर्न सकिन्छ, त्यसरी नै राजनीतिका उपज वनमाराहरूको पनि अन्त्य गर्न सकिन्छ । त्यसका लागि दर्शन, कार्यक्रम र विचारधाराबाट निर्देशित दलले अब विधिसम्मत बलियो संगठन, स्वच्छ प्रतिस्पर्धासहितको नेतृत्व, समाज विश्लेषणपश्चात्को आवधिक कार्यक्रम र जनअनुमोदित व्यवहार गर्नैपर्छ । अझै पनि समय छ, यो सुधार गरिहाल्नुपर्ने समय हो । पलपलमा अनेकलाई एक बनाउँदै जानु आजको आवश्यकता र अनिवार्यता पनि हो ।