

बागमती । नेपाली काँग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री नियुक्त भएका छन् । उनी मुख्यमन्त्री नियुक्त भएसँगै वाग्मती प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा पहिलोपटक सरकार बनेको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मंगलबार (आज) लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मंगबार नै उनले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।
नेपाली कांग्रेस बागमती संसदीय दलका नेता समेत रहेका लामाले एमालेका २७ र कांग्रेसको ३७ गरि ६४ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय तोकर दाबी पेस गर्न आह्वान गरेका थिए ।
प्रदेश सरकार गठन भएपछि अहिले पहिलोपटक काँग्रेसले वाग्मती प्रदेशमा नेतृत्व पाएको हो ।