काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा रानामाथि लागेको आरोपको छानबिन गर्नुपर्ने धारणा राखेका छन् । ९ लाख रुपैयाँ पीडितसँग लिएको भन्ने आरोपमाथि अनुसन्धान अघि बढाउन राज्यका निकायसँग उनले आग्रह गरे । तत्कालीन महामन्त्रीको हिसाबले यसबारेमा आफूले पनि केही जानकारी राखेको भन्दै यसमा आवश्यक सहयोग गर्नुपरे आफू तयार रहेको पनि उनले मंगलबार सामाजिक सञ्जालमार्फत् जानकारी दिए ।
उनले फेसबुकमा लेखेका छन् ‘उपसभामुखलाई सोधखोजपछी पनि म पिडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पिडितले ती पालिका सभापतिलाई “तपाईंले कुरा कता कता पुर्याउनु भयो, मेरो पैसा फिर्ता आयो” बताइन् । ९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछी पिडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पिडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पिडितसँग सुरक्षित छ ।’
उनले हालसालै घटना सार्वजनिक भएपछि रवि लामिछाने क्लबले मिथ्या र भ्रम छर्न पार्टीको लेटरहेड दुरूपोयग गरेको आरोप पनि लगाएका छन् । लेटरहेडमा आर्थिक लेनदेन नभएको भनेर किटान गरी विज्ञप्ति जारी गर्नुअघि, तत्कालीन अवस्थामा अनुसन्धानको नेतृत्व गरिरहेका कारणले पनि आफूसँग पनि के भएको हो भनेर सोधखोज गरिनुपर्ने उनको तर्क छ । यसको मतलब क्लब विषयको गाम्भीर्यतालाई सिधै नजरअन्दाज गरी पार्टीमा बेथितिको संरक्षणमा खडा भयो ।