काठमाडौँ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू रद्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौँ यात्रु अलपत्र परेका छन् । आकस्मिक परिस्थितिमा अप्ठ्यारोमा परेका यात्रुको सहयोगका लागि लोकतान्त्रिक होटल व्यवसायी सङ्घ ले निःशुल्क खाना र बस्नको व्यवस्था गरेको जनाएको छ ।
नेपाली कांग्रेस निकट शुभेच्छुक संस्थासमेत रहेको सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा रोकिन बाध्य भएका यात्रुको अवस्थालाई मध्यनजर गर्दै तत्काल राहत स्वरूप आवश्यक व्यवस्थापन गरिएको जानकारी दिए ।
“कुनै पनि नेपाली अप्ठ्यारोमा पर्दा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ भन्ने मान्यताअनुसार, पार्टी सभापति गगनकुमार थापा को निर्देशनमा होटल व्यवसायीहरू एकजुट भएर अलपत्र यात्रुलाई खाना र बस्नको व्यवस्था मिलाएका हौँ,” अध्यक्ष ढकालले बताए।
सङ्घले काठमाडौँ उपत्यकाभित्रका सदस्य होटलहरूसँग समन्वय गरेर आवश्यक शय्या, भोजन तथा आधारभूत सुविधा उपलब्ध गराएको जनाएको छ। उडान पुनः नियमित नहुँदासम्म सहयोगलाई निरन्तरता दिइने पनि सङ्घले स्पष्ट पारेको छ।
अन्तर्राष्ट्रिय परिस्थिति जटिल बन्दै जाँदा विमानस्थलमा यात्रुको चाप बढिरहेको छ। यस्तो अवस्थामा निजी क्षेत्रबाट देखिएको सहयोगलाई यात्रुहरूले सकारात्मक रूपमा लिएका छन्।
“कुनै पनि नेपाली अप्ठ्यारोमा पर्दा सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने उद्देश्यअनुसार पार्टी सभापति गगनकुमार थापाको निर्देशनअनुसार होटल व्यवसायीले उक्त निर्णय गरेर खाना र बस्नको व्यवस्था मिलाएका हौँ”, उनले भने ।

