काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले छानबिन समितिको समय थपिनु गलत भएको बताएका छन्। बुढानीलकण्ठ नगरपालिका–९ मा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू विधिको शासनमा विश्वास गर्ने व्यक्ति भएको स्पष्ट पारे ।
तिमल्सिनाले दण्डहीनता सुशासनको दुश्मन भएको उल्लेख गर्दै भने, “गल्ती गर्ने जो कोही भए पनि उसले सजाय भोग्न तयार हुनुपर्छ। म विधिको शासनलाई पूर्ण रूपमा मान्छु।” उनका अनुसार छानबिन प्रतिवेदन निर्वाचनअघि नै सार्वजनिक हुनुपर्ने भए पनि त्यसो हुन नसकेको र त्यसका लागि समय थपिनु गलत अभ्यास हो ।
उनले छानबिन प्रतिवेदनमा आफ्नै पार्टीका व्यक्ति परे पनि कारबाही हुनुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका सभापति गगन थापाको भनाइ उद्धृत गर्दै तिमल्सिनाले “छानबिनमा नेता होस् वा नाता, कसैलाई पनि छोड्नु हुँदैन” भन्ने धारणा व्यक्त गरे ।
सत्ता पुर्याउन एक पार्टीका कार्यकर्ताले अर्को पार्टीलाई भोट हाल्ने प्रथाको अन्त्य हुन्छ कि हुँदैन भन्ने प्रश्नमा तिमल्सिनाले यसको सुरुवात कांग्रेसले आफैं गरेर देखाइसकेको दाबी गरे ।

