

काठमाडाैँ । राष्ट्रपतिमा दुई कार्यकाल सम्पन्न भएपछि पुनः राजनीतिमा फर्किन लागेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना निकटस्तहरू लिएर चीन भ्रमणमा गएकी छन्। नेकपा एमालेको आसन्न महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिन तयार भएकी उनी अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि चीन भ्रमणमा गएको बुझिएको छ।
नेकपा एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भण्डारी शनिबार राति चीनतर्फ प्रस्थान गरेकी हुन् । एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणमा, ‘नेपाल–चीन मित्रता प्रवर्द्धन उच्चस्तरीय भ्रमण कार्यक्रम–२०८२’ अन्तर्गत चीन प्रस्थान गरिएको बताएका छन् । भ्रमण दलमा महासेठ पनि छन् ।
भ्रमण टोलीमा महासेठसँगै स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचन, पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव डा. भेषराज अधिकारीलगायत छन् । राष्ट्रपति पदबाट अवकाश भएपछि भण्डारीको यो पहिलो विदेशयात्रा हो ।
भण्डारी नेतृत्वको टोली चीनमा एक साता रहनेछ । त्यसक्रममा केही राजनीतिक भेटघाटसमेत हुने नेताहरूले बताएका छन् । राष्ट्रपति हुँदा उत्तरी छिमेकी मुलुक चीनसँग निकटस्थ सम्बन्ध बनाएकी उनी चीनसँगको सम्बन्धमा नेकपा एमालेभित्र केपी ओलीभन्दा अग्र स्थानमा देखिन्छन् । उनी राष्ट्रपति भएकै समयमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमण समेत गराएकी थिइन्।