काठमाडौं । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा काठमाडौं क्षेत्र नम्बर ४ को चुनावी मैदान निकै रोचक बनेको छ । बिहीबार अपराह्न साढे ४ बजेतिर कपन मिलनचोक तरकारी बजार पुग्दा त्यहाँको माहोल बेग्लै थियो । कोही मकै पोलेर बेच्न त कोही तरकारीको भाउ मिलाउन व्यस्त थिए । ‘साग मुठाको २५, आलु किलोको ३०’ को आवाजले बजार गुञ्जिरहँदा भित्रभित्रै भने चुनावी बहसले तातेको देखियो । मानौं कसैलाई चुनाव आइरहेको पत्तोसमेत छैन ।
गगन थापाको चुनावी क्षेत्र भनेर चिनिने यस क्षेत्रमा चुनाव भने लागिसकेको छ । काठमाडौं ४ लामो समयदेखि नेपाली कांग्रेसको पकड रहेको क्षेत्र हो । यहाँबाट लगातार चुनाव जित्दै आएका कांग्रेस सभापति गगन थापा यसपटक सर्लाही ४ मा झरेपछि उनले आफ्नो विरासत थाम्न युवा नेता सचिन तिमेल्सिनालाई अघि सारेका छन् । अर्कोतर्फ, एमालेबाट डा. राजन भट्टराई र रास्वपाबाट पुकार बम चुनावी प्रतिस्पर्धामा छन् ।
कपन, चुनिखेल र कालोपुलका विभिन्न क्षेत्रमा मतदाताहरूसँग कुराकानी गर्दा केही रोचक तथ्यहरू बाहिर आएका छन् । बाहिर रास्वपा र ‘घण्टी’ को लहरको चर्चा सुनिए पनि धेरैजसो मतदाताहरूले काठमाडौं ४ को सांगठनिक धरातलमा कांग्रेस र सचिन तिमेल्सिना निकै अगाडि रहेको बताए ।
भिडियोमा देखिन नचाहने केही स्थानीय मतदाताहरूका अनुसार, “अन्यत्र लहर जे-जस्तो भए पनि काठमाडौं ४ मा कांग्रेसको वातावरण निकै बलियो छ । वर्षौंदेखि जनताको सुख-दुःखमा भिजेको पार्टी र गगन थापाको उत्तराधिकारीका रूपमा आएका सचिनलाई यहाँका मतदाताले बढी विश्वास गरेका छन् ।” स्थानीय बासिन्दाका अनुसार, सचिन यसै क्षेत्रका बासिन्दा हुनु र युवा पुस्तामा लोकप्रिय हुनु उनका लागि थप सकारात्मक पक्ष हो।
कपनको तरकारी बजारमा साग बेचिरहेको अबस्थामा भेटिएकी एक जेन-जी (Gen-Z) युवाले ‘बालेन’ र ‘घण्टी’ को नाम लिए पनि घण्टीका उम्मेदवार को हुन् भन्नेमा उनी अलमलमा थिइन् । कतिपय मतदाताहरूले ‘नयाँ पार्टी’ हेर्ने कुरा गरे तापनि उम्मेदवारको नाम र उनको योगदानबारे भने अनभिज्ञता प्रकट गरे । यसले के देखाउँछ भने, रास्वपाको लहर चर्चामा मात्र सीमित हुन सक्छ, जबकि सचिन तिमेल्सिना र राजन भट्टराई जस्ता उम्मेदवारहरूको व्यक्तिगत पहिचान र पकड मतदाताको घरदैलोसम्म पुगेको छ।
चुनिखेल नौलिनस्थान मन्दिर परिसरमा गफिँदै गरेका ७० वर्षीय वृद्ध र ४० वर्षीय अधबैँसे मतदाताहरूमध्ये कतिपयले “जुनसुकै लहर आए पनि आफूले वर्षौंदेखि मत दिँदै आएको पार्टी र स्थानीय उम्मेदवारलाई नछाड्ने” बताए । उनीहरूको नजरमा सचिन तिमेल्सिना एक उर्जावान र सुझबुझपूर्ण युवा नेता हुन्, जसले गगन थापाले सुरु गरेका अधुरा कामलाई पूर्णता दिन सक्छन् । यस ठाउँमा कांग्रेसका अर्का नेता न्हुच्छेनारायण श्रेष्ठको बर्चष्व रहेको बताइन्छ ।
चर्चा र सामाजिक सञ्जालमा रास्वपाका पुकार बमको ‘हाइप’ देखिए पनि ग्राउण्ड रियालिटीमा सचिन तिमेल्सिनाको अवस्था अरूको तुलनामा सुदृढ देखिन्छ । बलियो संगठन, गगन थापाको लिगेसी र स्थानीय मतदातासँगको निरन्तर साक्षात्कारले सचिनलाई चुनावी दौडमा ‘अग्रपङ्क्ति’ मा राखेको छ । एमालेका राजन भट्टराई र रास्वपाका पुकार बमका लागि कांग्रेसको यो किल्ला तोड्न निकै ठूलो चुनौती हुने देखिएको छ।

