काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा बेथितिका पराकाष्ठा भेटिन्छन् । नगरपालिकाभित्र विशेषगरी शिक्षा क्षेत्रमा व्यापक अनियमितता देखिएको छ । एकातिर एसएलसी पास नगरेका वडाध्यक्षहरू मरिहत्ते गरेर व्यवस्थापन समितिमा बस्ने होड अनि अर्कोतिर बिभिन्न नाउँमा शिक्षामा आउने बजेटको दुरूपयोगका सिलसिला बुढानिलकण्ठ बग्रेल्ति देख्न पाइन्छन् ।
यसैक्रममा बुढानीलकण्ठ नगरपालिकामा बिद्यालयमा आउने पुस्तकालयको बजेटमा व्यापक अनियमितता हुने गरेको पाइएको छ । पुस्तकालयको बजेटले स्तरहीन, अनावश्यक तथा सस्ता पुस्तकहरू बोरा भरेर किनेर ल्याउने र बजेटको दुरूपयोग गर्ने गरेको तथ्य सार्वजनिक भएको छ ।
बुढानीलकण्ठका सबै सामुदायिक विद्यालयमा पुगेर हेर्ने हो भने पुस्तकालयको हालत दयनीय छ । सरकारले वर्षेनी पुस्तकालयका लागि भनेर बजेटको व्यवस्था भए पनि त्यो बजेटले सस्ता, पैसा नपर्ने र स्तरहीन पुस्तक तथा सामान खरिद गरेर रकम झ्याम्म पार्ने संस्कृति नै बनेको छ । सबै स्कुलको समान कथा हो यो ।
शिक्षा क्षेत्रका विभिन्न आयाममा लामोसमयदेखि काम गरिरहेकी शान्ता दाहालले सामाजिक सन्जालमा बुढानीलकण्ठमा बिद्यालयमा आउने पुस्तकालय को बजेटको दुरूपयोग भैरहेको औंल्याएकी हुन् । दाहालले कमसेकम बालबािलकाको भविष्य मा त खेल नखेल्न भन्दै पुस्तकालयको बजेटले स्तरहीन पुस्तकले बोरा भरेर काम गरेको देखिएको बताइन् ।
बुढानीलकण्ठमा व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यपकको मिलेमतो विद्यार्थीहरूको पुस्तक, पोशाक, पुस्तकालयदेखि अन्य मसलन्दमा व्यापक घोटला हुने गरेको छ । राजनीतिक जनप्रतिनिधि आफै व्यवस्थापन समितिमा बस्न चाहनुको मुख्य कारणमा सामुदायिक विद्यालयमा हुने अदृष्य कमाइ नै मुख्य कुरा रहेको बताइन्छ ।