संखुवासभा/मादी — मादी नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयमा २०८२ चैत ५ गतेदेखि सञ्चालन भइरहेको वार्षिक परीक्षाको प्रश्नपत्रमा गम्भीर त्रुटि देखिएको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले फागुनको पहिलो साता प्रधानाध्यापकहरूको बैठकमार्फत प्रत्येक विषयका लागि विषयगत शिक्षकको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरी प्रश्नपत्र निर्माण प्रक्रिया अघि बढाएको जनाएको छ। शाखाका अनुसार सम्बन्धित विषयका विज्ञ शिक्षकहरूले २/२ दिनको कार्यशाला सञ्चालन गरी प्रश्न तयार पारेका थिए र सोही आधारमा छपाइ तथा वितरण गरिएको थियो ।
यद्यपि, परीक्षामा प्रयोग भएको प्रश्नपत्रमा कमजोरी भेटिएपछि अभिभावक तथा सरोकारवालाहरू आक्रोशित बनेका छन्। “यस्तो कमजोर प्रश्नपत्रले बालबालिकाको भविष्यमाथि खेलवाड गरेको छ,” अभिभावकले गुनासो गरे । उनीहरूले प्रश्नपत्र छपाइअघि उचित रुजु (प्रुफ रिडिङ) किन नगरिएको भन्दै गम्भीर लापरबाही भएको आरोप लगाएका छन् ।
शिक्षा शाखाले त्रुटिको नैतिक जिम्मेवारी लिने जनाएको भए पनि विषयगत शिक्षकहरूमाथि पूर्ण रूपमा निर्भर रहनु नै कमजोरी भएको स्वीकार गरेको छ। तर, शाखाले शिक्षक संलग्नताबिना प्रश्नपत्र निर्माण गरिएको भन्ने आरोप भने अस्वीकार गरेको छ।
अभिभावकहरूले प्रश्न उठाएका छन्— “यो प्रश्नपत्र तयार गर्ने शिक्षक को हुन्? यस्तो त्रुटिपूर्ण प्रश्नपत्र कसरी स्वीकृत भयो? यसको जिम्मेवारी कसले लिन्छ?”
आगामी दिनमा यस्ता कमजोरी नदोहोरियोस भन्नका लागि कडा निगरानी र स्पष्ट जिम्मेवारी निर्धारण गर्नुपर्ने आवाज उठेको छ।


