

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को परीक्षा गर्दैछ। आइतबारदेखि सुरु हुने परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको बोर्डले जनाएको छ।
देशभर तथा विदेशबाट समेत ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरेका छन्।
आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ। सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिए।
परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिएका छन्।