बागलुङ, जेठ २१ — बरेङ गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार तथा उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालयलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कक्षा १२ को शैक्षिक सत्र २०८१ तथा कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा र सिकाइ उपलब्धि मापन परीक्षा शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालयलाई बिहीबार आयोजित समारोहमा सम्मान गरिएको हो।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने कुल ७९ जना शिक्षक, विद्यार्थी र अभिभावकलाई खादा, नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो। उत्कृष्ट नतिजा प्राप्त विद्यालयहरूलाई समेत विशेष रूपमा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय तहमा शैक्षिक प्रतिस्पर्धा, उत्तरदायित्व र गुणस्तरीय शिक्षाप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ।
सम्मानित व्यक्तिहरूलाई शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सूर्यप्रसाद शर्मा तथा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक पदमबहादुर पुनले खादा, नगद र सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा प्रधानाध्यापक मेघराज चालिसे, शिक्षिका पार्वता भुसाल तथा विद्यार्थी प्रतिनिधि रक्षा पुनले शुभकामना मन्तव्य व्यक्त गर्दै सम्मान कार्यक्रमले शैक्षिक उपलब्धिलाई थप उचाइमा पुर्याउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सूर्यप्रसाद शर्मा र प्रशासन शाखा प्रमुख कृष्णप्रसाद रिजालले गरेका थिए।
गाउँपालिकाले यस्ता प्रोत्साहनमूलक कार्यक्रममार्फत विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै समग्र शैक्षिक विकास र गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गरेको छ।
“उत्कृष्ट नतिजाको सम्मान, गुणस्तरीय शिक्षाको अभियान” भन्ने सन्देशसहित सम्पन्न उक्त कार्यक्रमलाई बरेङ गाउँपालिकाको शिक्षा क्षेत्रमा प्रेरणादायी कदमका रूपमा हेरिएको छ।


