

काठमाडौँ । काठमाडौँको सुकेधारामा रहेको ब्रुकलिन कलेजले आयोजना गरेको विद्यार्थी स्वागत तथा बिदाई कार्यक्रममा ४१५ जना विद्यार्थी दीक्षित भएका छन् । शनिबार दियो प्यालेसमा आयोजना गरिएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यक्रमको उद्घाटन गरेका थिए।
प्रत्येक वर्ष हुने कार्यक्रममा राजनीतिक व्यक्तिलाई उद्घाटनका लागि बोलाउने गरिएकोमा यसपटक भने नित्तान्त शिक्षासँग सम्बन्धित व्यक्तिबाट उद्घाटन गरिएको थियो । यस वर्ष २०० जना स्नातक तहमा र २१५ जना प्लस टु तहमा गरी ४१५ जना दीक्षित भएका हुन् ।
विभिन्न प्रतिष्ठित विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल र योग्य विद्यार्थीहरूको संगतस्थल भनेको ब्रुकलिन कलेज विज्ञान, मानविकी, व्यवस्थापन, कानुन, शिक्षा तथा समाजसेवा संकायमा अध्ययन गर्ने विद्यार्थीहरूको मुख्य रोजाइको स्थल बन्ने गरेको छ।
कार्यक्रममा कलेजमा विभिन्न विषयमा अध्यापन गर्ने प्राध्यापक र कर्मचारीलाई समेत सम्मान गरिएको थियो । साथै, कलेजद्वारा आयोजित अतिरिक्त क्रियाकलापमा सहभागी भई उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको कलेजका अध्यक्ष खिला सापकोटाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि परीक्षा नियन्त्रक जोशीले विगतमा परीक्षा नहुने र भए पनि समयमै त्यसको नतिजा प्रकाशित गर्न नसकिने अवस्थाका कारण कतिपय विद्यार्थीको भविष्य अन्योल हुने गरेको स्मरण गर्दै अहिले त्यस्तो समस्या नरहेको बताएका छन् । साथै, उनले ब्रुकलिन कलेजलाई उत्कृष्ट अङ्कका साथ विद्यार्थी पास गराउन सकेकोमा धन्यवाद र बधाई ज्ञापन गरे ।
कार्यक्रममा अन्य विभिन्न शैक्षिक संस्थाबाट समेत प्राचार्य एवं प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा विनायक सिद्ध कलेजका प्राचार्य रामकृष्ण सिंखडा, जिपी कोइराला मेमोरियल कलेजका डबलबहादुर बोहरा, हिमशिला स्कुलका प्राचार्य राजकुमार बोगटी, सुनकोशी गाउँपालिकाका वडाध्यक्ष प्रकाश सापकोटा, स्वयम्भु इन्टरनेशनल कलेजका प्राचार्य सुमन चौधरी, समाजसेवी हरि कार्की, माधव त्रिपाठी, सागर गिरी, राजकुमार श्रेष्ठ, प्रेम तामाङ, लोकचन्द लुइटेल, शिक्षाविद तथा ब्रुकलिन कलेजका सञ्चालक डाक्टर प्रताप छतकुलीलगायतको उपस्थिति रहेको थियो।