नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको पुनर्संरचना प्रक्रिया पूरा भइसकेको दाबी गर्दै बदलिएको कांग्रेसमार्फत देशको शासन प्रणाली र राजनीतिक अभ्यासमै परिवर्तन ल्याइने बताएका छन्।
बुधबार सामाजिक सञ्जालमा सार्वजनिक भिडियो सन्देशमार्फत थापाले नेपाली कांग्रेस ‘कांग्रेस २.०’ को चरणमा प्रवेश गरिसकेको बताएका हुन्। उनका अनुसार नयाँ कांग्रेसले पुरानो कांग्रेसका सकारात्मक मूल्य र अभ्यासलाई आत्मसात् गर्दै कमजोरी र असफलताबाट छुटकारा पाएको छ।

थापाले नेपाली कांग्रेसलाई देश परिवर्तन गर्ने एउटा सशक्त माध्यमका रूपमा प्रस्तुत गर्दै पार्टीलाई ‘एजेन्सी’को संज्ञा दिएका छन्। यही एजेन्सीमार्फत नेपाल बदल्ने साझा सपना साकार पार्ने लक्ष्य कांग्रेसको रहेको उनको भनाइ छ।
देश गम्भीर मोडमा पुगेको उल्लेख गर्दै उनले वर्तमान अवस्थालाई सही ढंगले व्यवस्थापन गर्न नसके थप संकट निम्तिन सक्ने चेतावनी दिए। बदलिएको कांग्रेसले देशलाई थप ध्वंसतर्फ जान नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको उनले बताए।
सभापति थापाले कांग्रेस उत्तेजना, घृणा र विभाजनको राजनीति नगर्ने स्पष्ट पार्दै सबैलाई समेटेर अघि बढ्ने नीति लिएको बताए। विभाजनकारी राजनीतिक अभ्यासको अन्त्य आवश्यक रहेको उनको भनाइ छ।
उनका अनुसार कांग्रेस विद्यमान शासन शैली, सोच र कार्यगतिमा सुधार गर्ने एजेण्डासहित अघि बढेको छ। केवल सत्ता मिलाउने राजनीति होइन, व्यवस्थामै सुधार गर्ने लक्ष्य पार्टीले लिएको उनले स्पष्ट पारे।
भिडियो सन्देशमार्फत थापाले युवालाई भविष्यको आशा मात्र नभई वर्तमानका सक्रिय साझेदारका रूपमा राजनीतिमा सहभागी हुन आह्वान गरे। युवासँगै अघि बढे मात्र राजनीतिक तथा संरचनागत परिवर्तन सम्भव हुने निष्कर्ष उनले प्रस्तुत गरे।

