

काठमाडौँ । करिब एक महिना लामो सडक आन्दोलनपछि नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ। बुधबार राति शिक्षा मन्त्रालयमा भएको दुईपक्षीय वार्तापछि लगत्तै बसेको मन्त्रिपरिषद बैठकले सहमति बमोजिम कार्यान्वयन गरेसँगै शिक्षक आन्दोलन स्थगित भएको छ।
बुधबारको वार्तामा सरकार र शिक्षकहरूबीच ९ बुँदे सहमति भएको थियो। जसमा दुर्गम भत्ताको विषय स्वास्थ्य उपचारमा निजामती अस्पतालमा छुट पाउने विषय र ग्रेडिङ प्रणालीमा जाने लगायतका विषयमा सहमति भएको छ भन्ने अस्थायी शिक्षकहरुलाई स्थायी गर्नुपर्ने निजामती कर्मचारीको भन्दा शिक्षकको तलब बढी हुनुपर्ने लगायतका माग भने कुरा भएनन् । आवधिक तहगत बढुवा र खुल्ला परीक्षामा तल्लो तहकालाई आरक्षित सिट नहुने सबै अस्थायी अवधि गणना नहुने, विद्यालय शिक्षा संविधानको अनुसूची नौमा नहुने, शिक्षकको कार्यसम्पादन र सरुवा कम्तीमा जिल्ला तहबाट हुनुपर्ने माग पनि पूरा नहुने भएको छ । त्यस्तै, शैक्षिक प्रशासनमा शिक्षकको सहभागिता नहुने भएको छ । शिक्षक काउन्सिल गठन हुनुपर्ने, विद्यालयको अनुमति खारेज प्रदेशबाट हुनुपर्ने, विद्यालयको अनुमति खारेज प्रदेशबाट हुनुपर्नेलगायतका माग पूरा भएनन् ।
यी हुन् सरकार-शिक्षकबीच भएका ९ बुँदे सहमति
१) सम्पूर्ण शिक्षक–कर्मचारीलाई उपचारमा सहुलियत उपलब्ध गराउने ।
२) अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी/करार साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बालविकास सहजकर्ता) को बिरामी विदा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने ।
३) प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने ।
४) आगामी आव २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सरह ग्रेड संख्या र रकम कायम गर्ने ।
५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी/करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुनबमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने
६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।
७) नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।
८) नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।
९) निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने ।