काठमाडौं खबर पुस १२, २०८१
काठमाडौं । काठमाडौं खबरले ‘बुढानीलकण्ठ स्कुलको जग्गा संस्थालाई बाँड्न चलखेल’ शीर्षकमा प्रकाशन गरेको समाचारको बुढानीलकण्ठ स्कुलले खण्डन गरेको छ । २०८१ साल पुस ४ गते प्रकाशित सो समाचारप्रति स्कुलले पठाएको खण्डन शुक्रबार काठमाडौंखबरले प्राप्त गरेको हो ।
खण्डनपत्रमा स्कुलका प्रिन्सिपल केशरबहादुर खुलालले स्कुलको सम्पत्ति अन्य संस्थालाई बाँड्न नलागिएको दाबी गरेका छन् । उनले समाचारमा प्रकाशित गरिएजस्तो सेब्स अर्गनाइजेसनलाई जग्गा दिने भन्ने कुरा पूर्णरुपमा झूटो भएको दाबी गरेका छन् ।
तर उनले खण्डनपत्रमा विद्यालयका पूर्व विद्यार्थीहरूको पूर्ण आर्थिक सहयोगमा स्कुलकै पूर्ण स्वामित्वमा रहने गरी विद्यालय हाताभित्र भवन निर्माण गर्ने र उक्त भवनमा विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत निकट भविष्यमा सञ्चालन गर्ने शिक्षक तालिम तथा आवासीय प्रयोजनका लागि र विद्यालयले स्वीकृति दिएको खण्डमा सेब्स तथा अभिभावक संघ (फोब्स्) ले कार्यक्रम सञ्चालन गर्न सक्ने निर्णय भएको कुरा स्वीकार गरेका छन् ।
संवाददाताको भनाइ: यो समाचारमा उल्लेखित स्रोतप्रति हामी पूर्णविश्वस्त छौँ । कुनै पनि सरकारी जग्गा गैरसरकारी निकायलाई नामसारी गरेर बाँड्न नमिल्ने नेपालको कानुनप्रति हामी राम्रोसँग जानकार छौँ । तर स्वार्थ समूहले सीमित व्यक्तिलाई प्रभावमा पारी अनन्तकालसम्म सो जग्गा भोगचलन गर्ने गरेको नियति हामीले काठमाडौंका विभिन्न स्थानमा रहेका सरकारी जग्गामा देख्दै आएका छौं र त्यसको समाचार पनि लेखिँदै आएको छ । कुनै पनि स्वार्थ समूहलाई जग्गा भोगचलन गर्न दिनु वा जग्गा बाँड्नुको अर्थ जग्गा नामसारी नै गरेर दिन लागिएको बुझ्नु उचित हुँदैन । स्कुलले पठाएको खण्डनपत्रमा भनिए जसरी स्कुलको सम्पत्ति संरक्षण गर्दै अनिश्चितकालसम्म कुनै गैरसरकारी संस्थालाई भोगचलन गर्न दिँदैन भन्ने आशा व्यक्त गर्दै स्कुलद्वारा प्रेसित खण्डनपत्रलाई हुबहु प्रस्तुत गरेका छौँ ।
यस्तो छ स्कुलको खण्डनपत्र