काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत एसईई परीक्षामा एनजी आएका विद्यार्थीहरूका लागि एसईई पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि कक्षा सुरु गरिएको हो ।
गत एसईईको परीक्षामा महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट ३ हजार नौ सय ५९ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ३ हजार ८६ जनाले ग्रेडवृद्धि प्राप्त गरेका थिए भने ८७३ जनाले कुनै विषयमा एनजी प्राप्त गरी ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुँदैछन् ।
सो परीक्षामा देशभरबाट कुल सहभागी विद्यार्थी संख्यामध्ये ५२ प्रतिशत विद्यार्थीले कुनै न कुनै विषयमा एनजी प्राप्त गरेका थिए भने अनुत्तीर्ण हुनेमध्ये ८० प्रतिशत सामुदायिक विद्यालयका रहेका थिए । सो स्थितिमा पनि महानगरभित्रका सामुदायिक विद्यालयबाट भने ७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । बाँकीका लागि महानगरको पहलमा क्याम्प क्लास लिन लागिएको हो ।
विषयगत रुपमा हेर्दा महानगरमा सबैभन्दा धेरै ४५९ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन् । यसपछि अर्थशास्त्रमा २१९ जना, विज्ञानमा २६६ जना, सामाजिकमा १८९ जना, नेपालीमा ११६ जना, अंग्रेजीमा ९१ जना, लेखामा ७० जना, अप्सनल म्याथमा ५८ जना, कम्प्युटरमा २० जना, जनसंख्यामा ८ जना अनुत्तीर्ण भएका छन् । इलेक्ट्रिकल मेसिन विषयमा ४ जना, भूगोलमा ३ जना, वेसिक इलेक्ट्रिकलमा ३ जना, इन्डष्ट्रियल इन्स्टलेसनमा २ जना, इलेक्ट्रिकल इञ्जिनियरिङ्मा १ जना र वातावरण विज्ञानमा १ जना अनुत्तीर्ण रहेको तथ्याङ्क छ ।
यी विद्यार्थीहरुलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको हो । यसप्रकारको वातावरण तयार पार्नका लागि विद्यार्थीहरुलाई स्वच्छ खानाको प्रबन्ध गरिएको, १ सय शिक्षकको रोष्टर बनाएर कक्षा सञ्चालन थालिएको बताइएको छ । कक्षामा व्यक्तिगत परामर्श, पियर लर्निङ र समूहगत सिकाइ जस्ता विधि अपनाइनेछ ।
क्याम्प क्लासका लागि महानगरले भौगोलिक आधारमा ११ वटा स्रोत केन्द्र तय गरेको छ । महानगरको यस अभियानले अन्य स्थानीय तहलाई पनि यस प्रकारको अभियान सञ्चालनका लागि अभिप्रेरणा प्राप्त हुने देखिन्छ ।
तय गरिएका स्रोतकेन्द्रहरू ः
१) शान्ति निकुञ्ज माध्यमिक वडा नं. २०, भगवतीवारी
२) टंगाल माध्यमिक विद्यालय, वडा नं. ५ टंगाल
३) जनप्रभात माध्यमिक विद्यालय, वडा नं. १३, कालीमाटी
४) शिवपुरी माध्यमिक विद्यालय, वडा नं. ३ महाराजगञ्ज
५) पद्मकन्या माध्यमिक विद्यालय, वडा नं. २९ डिल्लीबजार
६) पशुपति मित्र माध्यमिक विद्यालय, वडा नं. ७ चावहिल
७) कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, वडा नं. ३२ काटेश्वर
८) गुह्येश्वरी माध्यमिक विद्यालय, वडा नं. ९ सिनामंगल
९) शान्ति माध्यमिक विद्यालय, वडा नं. १७ थहिति
१०) तरुण माध्यमिक विद्यालय, वडा नं. १६ बालाजु
११) महेन्द्र बौद्ध माध्यमिक विद्यालय, वडा नंं ६ बौद्ध
काठमाडौं खबर असार २५, २०८१