

काठमाडौं । सोमबारदेखि मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजबाट सापटी लिएको धाप ड्यामको पानी वितरण कार्य सुरु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार दैनिक ४ करोड पानी गोकर्णेश्वर नगरपालिकाको १ नं वडामा पर्ने धाप ड्यामबाट वितरण गर्न थालिएको हो । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना मनसुनजन्य विपत्तिबाट जोगाउन हिजोबाट आयोजना बन्द गरिएको हो ।
बागमती सभ्यता–एकीकृत विकास समिति र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीच भएको सहमतिबमोजिम मंगलबारबाट पानी वितरण सुरु भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए। । उनका अनुसार काठमाडौंमा दैनिक ४३ करोड खानेपानी माग छ ।
माथिल्लो तटिय क्षेत्रमा पानी परिरहेको र अघिल्ला वर्षमा मेलम्ची नदीमा आएको बाढीले आयोजनाको ड्याममा क्षति पर्नुका साथै आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न हिजोदेखि आयोजना बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।