काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ जिल्ला सचिव इन्द्रबहादुर थापाको प्रयासमा बुढानीलकण्ठ प्रहरी प्रभागका थुनुवाहरूका जाडोमा लागि न्यानो ओढ्नेको व्यवस्था भएको छ । जाडोमा थनुवाहरू चिसोमा बसिरहेको अबस्थालाई सम्बोधन गर्न थापाको प्रयासमा रेडक्रसमार्फत तातो ओढ्नेको व्यवस्था भएको हो ।
सोमवार एक अनौपचारिक कार्यक्रमका साथ सचिव थापाले रेडक्रश प्रतिनिधिका साथमा बुढानीलकण्ठ प्रभाग प्रमुखलाई कम्बल हस्तान्तरण गरेका छन् । हस्तन्तरणपछि थापाले थुनुवाहरू जाडोमा निकै चिसोमा बसिरहेकाले मानवीय हिसाबले सहयोग गरेको बताए । उनले समाजसेवा गर्ने हो भने पाइला-पाइलमा यस्ता विषयहरू रहेको बताउँदै आफूले प्रयास गरेको अनि रेडक्रश सोसाइटीले केही तातो कम्बल उपलब्ध गराएको जानकारी दिए ।
थापाले प्रहरी प्रभाग बुढानीलकण्ठमा दैनिक थुनुवाहरू आउने-जाने हुने तर सिमित श्रोतले चल्नुपर्ने प्रभागमा थुनुवाहरूलाई नै भनेर विशेष व्यवस्था नहुने हुँदा उनीहरूका लागि सानो प्रयास गरेको बताए ।
सामाजिक सेवाका क्षेत्रमा निरन्तर लागिरहेका थापा राजनीतिलाई समाजसेवाको अंगका रूपमा लिने गर्छन् । समाजसेवा तथा शैक्षिक सेवाका क्षेत्रमा दर्जनौँ काम गरेका उनी चपली गणेशचोकमा रहेको गणेश माविको व्यवस्थापन समितिमा रहेर पनि काम गरेका थिए । उक्त विद्यालय व्यवस्थापन समितिको इतिहासमै थापाको कार्यकाललाई स्वर्णकाल मानिन्छ । थापाको पालामा विद्यालयले भौतिक तथा शैक्षिक गुणस्तरमा ठूलो उन्नति हासिल गरेको थियो ।