काठमाडौं । जनप्रतिनिधिहरू नै सार्वजनिक जमिन मिच्ने धन्दामा सक्रिय भएको स्थानीय तहमा बुढानीलकण्ठ नगरपालिका पनि पर्दछ । साविक गाविस रहँदा यस नगरका ६ वटा गाविसका जनप्रतिनिधिदेखि हाल नगरपालिका भएपछिका मेयरसहितका विषयलाई जोडघटाउ गर्ने हो काठमाडौँका अरू नगरपालिकामध्ये बुढानीलकण्ठ सबैभन्दा अगाडि पर्दछ । बुढानीलकण्ठ त्यस्तो नगरपालिका हो जसले दुवै स्थानीय तह चुनावमा पूर्व गाविस अध्यक्षलाई मेयरमा जितायो । दुवै मेयर सार्वजनिक जमिनका विषयमा दागधब्बा लागेका पूर्व गाविस अध्यक्ष हुन्।
हाल नगरपालिका प्रमुख रहेका मिठाराम अधिकारी साविक कपन गाविसका पूर्व अध्यक्ष हुन् । अधिकारीकै पालमा कपनका खहरेहरू सबै मासिएका थिए । विकास गरेको भन्दै परापूर्व कालदेखिका खहरेलाई सडक बनाउने भन्दै मासिएका थिए । यसरी खहरे मास्ने क्रममा ठूलो मात्रामा सार्वजनिक जमिनमा चलखेल भएको देखिन्छ । गाविस अध्यक्षबाट भग्यवश मेयर हुन पाएका अधिकारी मेयर भएपछि पनि सार्वजनिक खोला-खहरे मास्ने क्रममा भने यथावत छ । यी दिनहरूमा पनि सार्वजनिक खोला खहरे मासेर बाटो निकाल्ने काम यथावत् रहनुसँग जनप्रतिनिधि बन्न खर्च गरेको रकम उठाउने मेसो चलिरहेको सहजै अनुमान गर्न देखिन्छ ।अधिकारी गाविस अध्यक्ष हुँदा कपन क्षेत्रका धेरै सार्वजनिक जग्गाहरू संघसंस्थाका नाममा दिइएको थियो । चोकैपिच्छे सार्वजनिक भवन बने पनि ती भवनहरू अन्ततोगत्वा काम नलाग्ने भएका थिए ।
बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी हाल बसोबास गरिरहेका बुनपा १० आकाशेधाराको घर जग्गा साविक खहरेको सार्वजनिक जमिनमा परेको विषय लामो समयदेखि चल्दै आएको छ । नगरपालिकाकै एक कार्यक्रममा वडा नं ९ का जनप्रतिनिधि श्याम कार्कीले मेयर अधिकारीको घर सार्वजनिक जग्गामा रहेको भन्दै त्यसको तत्काल नापजाच हुनु पर्ने माग राखेका थिए । वडा सदस्य कार्कीले यो विषय उठाएको १ वर्ष बितिसक्दा पनि मेयर अधिकारीले जिम्मेवारी तथा जवाफदेही देखाउन सकेका छैनन् । अधिकारीको घरको उत्तरदिशाका दुइकोठा सार्वजनिक जमिनमा परेको भनेर पटक पटक कुरा उठे पनि उनको पार्टी नेकपा एमाले र सो पार्टीका जनप्रतिनिधिहरू मेयर अधिकारीको बचाउ गर्दै आएका छन् ।
नगरपालिकाको कार्यक्रममै उठेको गम्भीर विषयलाई मेयर अधिकारीले सुनेको नसुनेझैँ गरेर बसेको देखिन्छ । त्यसो त अधिकारीमाथि सार्वजनिक जमिनमा घर हुनुदेखि अन्य बिबिध विषयका आरोपहरू लागेका छन् । मेयर भएको लगभग २ वर्ष बितिसक्दा पनि उनी एक सहकारीमा अध्यक्षकारूपमा सक्रिय छन् । त्यस्तै साँप्रेढुंगामा रहेका उनको तीनतले टहरो पनि नगरपालिकाको निम्नतम मापदण्डविपरीत रहेको बताइन्छ ।
भ्रष्टाचारदेखि सार्वजनिक जमिन मिचेको, नगरपालिकाको मापदण्डविपरीत टहरो बनाएकोदेखि सहकारीको अध्यक्ष नछाडेको विषय संगीनरूपमा उठ्दा पनि उनी किन मौन छन् ? उनको पार्टी उनको किन पक्षपोषण गरिरहेको छ ?