काठमाडौं । कपनको मिलनचोक तरकारी बजारका लागि पछिल्ला १ दशकदेखि प्रख्यात छ । विशेषगरेर साँझपख यहाँ तरकारीलगायत सन्ध्याकालीन सडक व्यापार हुने गरेको छ । यो ठाउँ काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको संगमस्थल स्थल पनि हो । जहाँ गत वर्षामा डोजर लगाएर चखुंचा खोला खोलिएको थियो । खोला खोलिए पनि खोलेपछि के गर्ने बारेमा काम नहुँदा यो ठाउँ तरकारी व्यापरका लागि मात्र हैन खोला गन्हाएर बस्न नसक्ने भएको छ ।
काठमाडौं महानगरले अनानफनानमा खोला व्यवस्थित गर्न डोजर चलाएपछि साँघुरो बनेको चखुंचा खोलाको किनारमा हरेक साँझ त्यहाँ व्यापार गर्ने र खरिद गर्नेको भिड लाग्ने गर्छ । जहाँ ताजा तरकारी, फलफूल, पानीपुरीदेखि लत्ताकपडा, पोलेको मकैदेखि बिभिन्न दैनिक उपभोग्य बस्तु पाइन्छन् । खोला खोलेर व्यवस्थित नगर्दा स्थानीयवासीदेखि तरकारी व्यपारीलाई समेत सास्ती भएको छ । उपभोक्ता पनि तरकारी किन्न जान आउन सास्ती भएको अनुभूति गर्छन् ।