काठमाडौं । शिवपुरीको फेदैमा रहेर पनि बुढानीलकण्ठ तथा टोखालगायतका नगरपालिकाका कतिपय स्थान खानेपानीको चरम हाहाकारमा रहेको छ । शिवपुरी जंगलबाट बग्ने खोला, खोल्सी तथा जरूवाहरूका पानीलाई व्यवस्थित गरेर यस भेकलाइ खानेपानीको दीर्घकालीन व्यवस्था गर्ने तयारी गरिरहेको सांसद गगन थापाले जनाएका छन् ।
सांसद थापाले बुढानीलकण्ठको कपनमा आयोजित कार्यक्रममा अर्थमन्त्रालयले यो विषयमा चासो देखाएकोले बुढानीलकण्ठले खानेपानीको दीर्घकालीन बाटो पाउने आधार तय गर्न सक्ने बताएका छन् । बुढानीलकण्ठको कपनमा खानेपानी उत्पादन तथा वितरणमा पछिल्ला २ दशकदेखि सक्रिय कपन जोराधारा खानेपानी संरक्षण संस्थाको अधिवेशनलाइ सम्बोधन गर्दै सांसद थापाले सो कुरा बताएका हुन् ।
बुढानीलकण्ठ तथा टोखा भेकले दीर्घकालीनरूपमा खानेपानीको समस्या समाधान गर्न सक्ने आधार तय गर्न आगामी मंगलबार विशेष वैठक बस्न लागेको थापाले बताए । थापाका अनुसार यो विषयलाई बजेट व्यवस्थापन र कार्यान्वयनका लागि पहिलो चरणमा अर्थमन्त्री, खानेपानी मन्त्री र सांसदहरू गगन थापा तथा प्रदीप पौडेलबीच मंगलबार बैठक हुनेछ । त्यसपछि सम्बन्धित अरू सबै तहतप्कासँग बसेर काम तथा कुरा गर्ने सांसद थापाले जानकारी गराए । थापाले अर्थमन्त्रालयले यसपटक दीर्घकालीन हलका लागि रकम जोहो गर्छु भनेकोले विषयले मूर्तरूप लिने अपेक्षा गरेको बताए ।