बुढानीलकण्ठ क्षेत्रको पूरानो खानेपानी उत्पादन तथा वितरण गर्ने जोरधारा खानेपानी संस्थाले आज १५ औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशन गर्दैछ । खानेपानी अभावले समस्याग्रस्त कपनको घनावस्तीमा रहेको जोरधारा खानेपानी संस्थाले आजै नयाँ नेतृत्व पाउने छ । १२०० भन्दा धेरै साधारण सदस्यहरूबीच हुने साधारण सभालाइ सांसद गगन थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू पनि अतिथिको रूपमा सहभागि हुने आयोजकले जनाएको छ ।
साधारणसभामा संस्था आयव्यय विवरण तथा प्रगति विवरण पेश गरेर पार्टीका नेताहरूलाइ संस्था जिम्मा लगाउने पुरानो शैली यो अधिवेशनले तोड्ने उपभोक्ताले अपेक्षा गरेका छन् । खानेपानीको दीर्घकालीन समस्या समाधान हेतु विशेष काम गर्ने खाका भएको व्यक्तिको नेतृत्वमा संस्था जानुपर्छ भन्ने लामो समयदेखिको माग यसपटक साकार हुने अपेक्षा गरिएको साधारणसभा कार्यक्रम जोरधारा खानेपानी संस्था नजिकै रहेको बुढानीलकण्ठ १२ स्थित इभरसाइन पार्टी भेन्युमा हुनेछ ।