काठमाडौं । आज कीर्तिपुर र चन्द्रागिरि भेगमा मनाइने सात गाउँले जात्राको मुख्य दिन विष्णुदेवी क्षेत्रमा धुमधामका साथ जात्रा मनाइँदैछ । कीर्तिपुर भेगका नेवार समुदायहरूमा मंसिर महिनाको थिंलाथ्व अष्टमी नवमी र दशमी गरी तीन दिनसम्म स्थानीय जात्रा मनाउने चलन पाइन्छ । जात्राको मुख्य दिन शुक्रबार चन्द्रागिरि र कीर्तिपुर नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । नवमीको दिनमा कीर्तिपुरको पाँगामा विष्णुदेवी रथ जात्रा गरिन्छ भने त्यसको भोलिपल्ट कीर्तिपुरमा इन्द्रायणी जात्रा गर्ने प्रचलन छ । पहिलो दिनलाई ‘छोयला भूः’ भनिन्छ र घरलाई लिपपोत गरी सकेपछि दिउसो छव्यला, चिउरा, हरियो लसुन, साँदेर जाँड खाने चलन छ ।
भोलिपल्टको दिनलाई भूःया भनिन्छ र त्यस दिन प्राय मानिसहरूको घरघरमा तःखाः (थलथले मासु) बनाउने गर्दछन् । भूःयाको भोलिपल्ट मुख्य जात्रा हो भने आफ्नो साथीभाई आफन्तलाई जात्रामा भोज स्वरूप चिउरा, गेडागुडी, अचार, छयाला, तःखाः पुकाः ला, दही आदी राखेर खुवाउने चलन छ । यस जात्राको विशेषता भनेको यो जात्रा जाडो मौसममा हुने भएकोले यो जात्राको समयमा त्यस भेगका वासिन्दाले बनाउने तःखाः (थलथले मासु) हो जुन विभिन्न प्रकारको हुन्छ । परम्पराअनुसार सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुल्क नवमीका दिन सन्तानहरु आउने विश्वासअनुसार अगामी शनिबार बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठीयार र गाउँले बाजागाजा ल्याउँछ । त्यस यात्रा हेर्नका लागि उपत्यकाका सबै ठाउँका नेवार समुदाय बल्खु पुग्ने गर्छन् । सोही दिन कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई स्थानमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने गर्छ ।
आमा मानिने विष्णुदेवीलाई भेट्न सन्तानहरुबीचमा उछिन पाछिन भएको किंवदन्तीअनुसार रथयात्राको क्रम चल्ने स्थानीय देवलाल श्रेष्ठ बताउँछन् । भेटघाट सुरु भएको वर्ष क्रमअनुसार जेठी छोरी मानिने मच्छेगाउँकी देवीको रथ पुग्नुपर्नेमा आमा भेट्नका लागि कान्छी छोरीअर्थात् सतुङ्गलकी देवी बिना श्रृङ्गार बल्खु पुगेकी थिइन् र मच्छेगाउँकी देवी भने श्रृङ्गारसहित केहीपछि पुग्दा बहिनी पहिले नै पुगिसकेको देखेपछि आमातर्फ पीठ फर्काएर बाहिरै बसिन् ।