काठमाडौं खबर पुस ६, २०८०
काठमाडौं । धेरै ठाउँको पुरानो नाम अपभ्रंश भएर जाने गरेको देखिएको छ । काष्ठमाण्डपको नाम अपभ्रंश भएर काठमाडौं भएको छ, थःबहिको नाम ठमेल भएको छ । यस्तै विभिन्न स्थानको नाम परिवर्तन भएको देखिन्छ । यस्तै, क्रममा वि.सं. १८६८ को बहिखातामा एउटा वालालीलकण्ठको नाम उल्लेख भएको भेटिएको छ ।
१८६८ सालको भीमसेन थापाको यस टिपोट पत्रमा विष्णुमतीको पुल बनाउँदा श्री वालालीलकण्ठ जाने बाटो उल्लेख छ । नेपाल भाषामा त जनजीब्ब्रीकरण भएको संस्कृतको भुजंगसयनाम नारायणको भुइँजसी नारायण पनि भनिएको पाइन्छ । त्यसैले वालालीलकण्ठको नाम बुढानीलकण्ठ त होइन भन्ने आशंका देखिएको छ ।
पुरानो नामको खोजी गर्दा बुढानीलकण्ठ क्षेत्रको बारेमा लेखिएका अभिलेखमा यो उल्लेख भेटिँदैन । यद्यपि बहिखातामा लेखिएको यो स्थल अन्यत्र पनि नदेखिएकोले यो क्षेत्रको पहिचानमा समस्या भएको हो ।