काठमाडौं खबर मंसिर २४, २०८०
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सुशासनका लागि जन्मिएको काँग्रेस अहिले काण्डैकाण्डमा फस्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले काँग्रेस सरकारमा भएको बेलामा नै यस्ता काण्डहरू आउन थालेको भन्दै दु:ख व्यक्त गरेका हुन् ।
‘कुशासन की नियतसँग जोडिएको छ की अयोग्यतासँग जोडिएको छ। शासन हामीले गरिरहेका छौँ। सुशासन हाम्रो वाचा मात्रै होइन, त्यसकै निम्ति जन्मिएको पार्टी हो। त्यसैले हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन्। यति धेरै काण्डहरू किन भइरहेको छन्? जरामा के छ? समस्या कहाँनेर छ? के कारणले गर्दा आएको छ? मलाई लाग्छ नेपाल पुकारले त्यसको जरामा पुग्नुपर्छ,’ उनले भने।
कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको दिनमा कुशासनबाट नागरिकहरू वाक्कदिक्क भएको बताए। ‘आजको दिनमा कुशासन, एउटा नागरिकलाई र्यान्डम्ली गएर कसैले भेट्यो भने नागरिक सबैभन्दा बढी आजित केही कुराले भएको छ भने कुशासनले भएका छन्। एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ। केही समयअघिसम्म एउटा काण्ड जताततै थियो,’ थापाले भने, ‘सुन काण्ड थियो, नक्कली भूटानी शरणार्थी प्रकरण थियो। अब एनसेल काण्ड आयो। अब यो केही दिन यही चल्छ। यो सेलाउन पाएको छैन, अर्को आउँछ। यो काण्ड कुशासनसँग जोडिएको छ।’