नेपाली कांग्रेसका सभापति गगन थापाले बिहीबार सुर्खेतमा आयोजित कांग्रेसको कर्णाली प्रदेश स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई स्पष्ट जनादेश दिन आग्रह गरेका छन्। उनले कांग्रेसले २०८२ देखि २०८७ सम्मको पाँच वर्षलाई “नेपालको इतिहासकै स्वर्णिम काल” बनाउने दाबी गरे।
थापाले विगत ५–६ वर्ष सरकार गठन र विघटनमै खर्चिएको भन्दै त्यसले युवापुस्तामा निराशा बढाएको उल्लेख गरे। “देशले गति समात्नुपर्ने बेला गठबन्धनको राजनीति दूषित भयो,” उनले भने, “अब हामी सपना बोकेर आएका छौँ—यो पाँच वर्षलाई परिणाममुखी बनाउने।”
उनका अनुसार कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्र कागजमै सीमित रहने छैन। “हामी पाँच वर्ष पर्खेर बस्दैनौँ। वैशाख १ मा एक महिनाको कामको हिसाब दिन्छौँ, जेठ १ मा अर्को एक महिनाको प्रगति सार्वजनिक गर्छौँ,” थापाले भने।
पाँच वर्षे योजनामा सहकार्यका लागि सबै दललाई एउटै टेबलमा बस्न आह्वान गर्दै उनले भने, “आओस् एमाले, आओस् नेपाली कम्युनिष्ट पार्टी, आओस् रास्वपा—साझा मञ्चमा बसेर योजना बनाऔँ। तर कोही पनि तयार छैन।” कुनै पनि “राजनीतिक नाटक”मा नफस्न कर्णालीका मतदातालाई सचेत गराउँदै उनले विकास र स्थायित्वका पक्षमा उभिन आग्रह गरे।
थापाले शान्ति–सुरक्षाको विषयमा पनि कडा सन्देश दिए। “सरकारको गोलीबाट कुनै पनि निहत्था नेपालीको ज्यान जानुहुँदैन। कुनै पनि मुकुन्डोधारीले सिंहदरबार जलाउनु पनि हुँदैन,” उनले भने।
गत भदौ २३ को आन्दोलनको जिम्मा लिने तर भदौ २४ को विध्वंसको जिम्मा नलिने प्रवृत्तिले देशलाई पुनः दुर्घटनातर्फ धकेल्न सक्ने चेतावनी दिँदै थापाले जवाफदेहिता र विधिको शासन अपरिहार्य रहेको बताए।
कांग्रेसले कर्णालीबाटै स्थायित्व, सुशासन र विकासको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

