काठमाडौँ, फागुन १४ — सचिन तिमिल्सिना ले काठमाडौँ क्षेत्र नम्बर ४ मा घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा उहाँले आफ्नो चुनावी रणनीति ‘घरदैलो र प्रत्यक्ष संवाद’ मा केन्द्रित गर्नुभएको हो।
बिहीबार बिहान बूढानीलकण्ठ बंगलामुखी मन्दिर क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुँदै तिमिल्सिनाले मतदाताका गुनासा सुन्नुका साथै आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्नुभयो। पूर्व सांसद गगन थापा को राजनीतिक विरासत जोगाउने चुनौतीसहित मैदानमा उत्रिएका उहाँले स्थानीय विकास, सुशासन र युवा स्वरोजगारलाई मुख्य एजेन्डा बनाएको बताउनुभयो।
‘सचिनसँग संवाद’ कार्यक्रम सुरु
तिमिल्सिनाले केवल सभामुखी भाषणमा सीमित नरही प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको जनाउँदै हरेक साँझ ७:३० देखि ८:०० बजेसम्म ‘सचिनसँग संवाद’ शीर्षकमा नागरिकसँग फोनमार्फत सिधा कुराकानी गर्ने कार्यक्रम सुरु गर्नुभएको छ।
“म तपाईँहरूको प्रतिनिधि मात्र होइन, सारथि बन्न चाहन्छु। त्यसैले तपाईँको दैलोमा र फोनको अर्को छेउमा सधैँ उपलब्ध हुनेछु,” उहाँले घरदैलोका क्रममा भन्नुभयो।
उहाँले ‘भिजन १०’ अवधारणा अघि सार्दै काठमाडौँका १० वटै क्षेत्रलाई समेट्ने साझा विकास खाका प्रस्तुत गर्नुभएको छ। उक्त योजनामा उपत्यकाको ट्राफिक व्यवस्थापन, प्रदूषण नियन्त्रण र पूर्वाधार सुधारलाई प्राथमिकता दिइएको बताइएको छ।
स्थानीयको अपेक्षा: विकास र निरन्तरता
वडा नम्बर ११ का स्थानीय बासिन्दाले सडक स्तरोन्नति, खानेपानीको दीर्घकालीन समाधान र युवामुखी कार्यक्रम ल्याउन आग्रह गरेका छन्। एक स्थानीयले भने, “हामीलाई चुनाव जितेर हराउने नेता होइन, सधैँ टोल–समाजमा साथ दिने प्रतिनिधि चाहिएको छ। सचिनजीमा त्यो सम्भावना देखेका छौँ।”
युथ कांग्रेसका संस्थापकसमेत रहेका तिमिल्सिनाको घरदैलो अभियानमा स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ। स्वागतमा फूलमाला र खादाले सम्मान गरिएको थियो।
घरदैलो अभियानमा देखिएको सक्रियता र जनसहभागिताले काठमाडौँ–४ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत गरेको छ।



