काठमाडौँ । आसन्न निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ। यसै क्रममा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं. ८ इकाईले शनिबार आफ्नो क्षेत्रमा स्वस्फूर्त घरदैलो तथा -याली कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौँ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सचिन तिमल्सिनाको पक्षमा जनलहर सिर्जना गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम नवाली टोलबाट सुरु भएको थियो । उम्मेदवार तिमल्सिनाको तस्बिर अंकित ब्यानर र झन्डासहित निस्किएको -यालीमा स्थानीय कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
नवाली टोलबाट सुरु भएको घरदैलो कार्यक्रम गौरीघाट, गुह्येश्वरी, पशुपति र तिलगंगा जस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरू हुँदै इट्टापाखा पुगेर समापन भएको थियो। घरदैलोका क्रममा टोलीले स्थानीय मतदाताहरूसँग भेटघाट गर्दै युवा उम्मेदवार सचिन तिमल्सिनालाई मतदान गरी विजयी गराउन अपिल गरेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ४ का क्षेत्रीय सभापति श्यामकृष्ण संगत, वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगत, प्रभावशाली नेता नरोत्तम वैद्यलगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो ।
सहभागी नेताहरूले काठमाडौँ ४ को विकास र युवा पुस्ताको प्रतिनिधित्वका लागि सचिन तिमल्सिनाको विकल्प नरहेको भन्दै वडा नम्बर ८ का मतदाताहरू उहाँको पक्षमा एकढिक्का रहेको दाबी गरे । घरदैलोका क्रममा स्थानीय बासिन्दाहरूले पनि युवा उम्मेदवारप्रति उत्साहजनक प्रतिक्रिया दिएका थिए।

