ललितपुर । ललितपुर महानगरपालिका–३ पुल्चोकका राजनीतिक तथा सामाजिक अभियन्ता जितेन्द्र कुमार श्रेष्ठले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनले सुशासन, डिजिटल रूपान्तरण र सहभागितामूलक स्थानीय विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै ललितपुर–३ लाई नमूना निर्वाचन क्षेत्र बनाउने लक्ष्य सार्वजनिक गरेका हुन्।
“परामर्श, पारदर्शिता र प्रविधिमैत्री शासनमार्फत समृद्ध ललितपुर निर्माण हाम्रो प्रतिबद्धता हो,” श्रेष्ठले घोषणा सभामा भने।
संगठनदेखि नेतृत्वसम्मको यात्रा
वडा समिति सभापतिबाट सुरु भएको श्रेष्ठको राजनीतिक यात्रा क्षेत्रीय सचिव, जिल्ला कोषाध्यक्ष, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै जिल्ला सभापतिसम्म पुगेको छ। पार्टी संगठन सुदृढीकरण र नीतिगत बहसमा सक्रिय भूमिका निर्वाह गरेका उनले अब संसदमार्फत राष्ट्रिय नीतिनिर्माणमा प्रभावकारी योगदान दिने लक्ष्य लिएको बताए।
विपदमा अग्रपंक्तिमा सक्रिय भूमिका
२०७२ सालको भूकम्प, कोभिड–१९ महामारी तथा २०८१ असोज ११–१२ को बाढीका बेला श्रेष्ठ राहत तथा समन्वय कार्यमा सक्रिय देखिएका थिए। जस्तापाता, खाद्यान्न र औषधि वितरणदेखि समुदाय परिचालनसम्म उनले नेतृत्वदायी भूमिका खेलेको स्थानीयले स्मरण गर्छन्।
नेपाल भाषा, नेपाल लिपि तथा स्थानीय कला–संस्कृति र सम्पदा संरक्षणमा समेत उनको निरन्तर सक्रियता रहँदै आएको छ।
संसदमा उठाउने मुख्य एजेन्डा
श्रेष्ठले संविधान संशोधनदेखि समयसापेक्ष कानुन निर्माण र प्रभावकारी कार्यान्वयनसम्म स्पष्ट र तथ्यपरक आवाज उठाउने बताएका छन्। उनका प्रमुख मुद्दा यस्ता छन्:
-
संवैधानिक आयोगमा निष्पक्ष र पारदर्शी नियुक्ति
-
भ्रष्टाचारविरुद्ध कडा कानुन र प्रभावकारी कार्यान्वयन
-
सार्वजनिक खरिद ऐन २०६३ परिमार्जन गरी गुणस्तरमा आधारित ठेक्का प्रणाली
-
प्रेस स्वतन्त्रता संरक्षण, सहकारी पीडितको न्याय
-
उद्योग–व्यवसायमैत्री र जनमुखी कर सुधार
उनले नीति निर्माणअघि स्थानीय बुद्धिजीवी, युवा, महिला अगुवा र सरोकारवालासँग नियमित परामर्श गर्ने प्रतिबद्धता जनाए।
‘डिजिटल सुशासन’ र युवा सहभागिता
श्रेष्ठले E-Governance, Paperless Administration र Open Data Policy कार्यान्वयनका लागि संसदमा नीतिगत पहल गर्ने बताएका छन्।
युवालाई नीति निर्माण प्रक्रियामा प्रत्यक्ष सहभागी गराउन “Lalitpur Youth Council”लाई छायाँ परिषद्का रूपमा गठन गर्ने घोषणा उनले गरेका छन्।
काठमाडौं उपत्यकाको खानेपानी र पूर्वाधार व्यवस्थापनलाई एकीकृत प्रणालीमार्फत सञ्चालन गर्न ‘Integrated Valley Management Act’ अघि बढाउने योजना समेत उनले सार्वजनिक गरेका छन्।
IT Hub र AI शिक्षा अभियान
ललितपुरलाई IT तथा Innovation Hub का रूपमा विकास गर्ने लक्ष्यसहित सार्वजनिक भवनलाई Co-working Space मा रूपान्तरण, निर्वाध विद्युत् आपूर्ति सुनिश्चित तथा सामुदायिक विद्यालयमा AI Lab स्थापना गरी Coding र Data Science शिक्षा प्रवर्द्धन गर्ने कार्यक्रम अघि सारिएको छ।
संघीय सरकार, बागमती प्रदेश सरकार र ललितपुर महानगरपालिकासँग सहकार्य गर्दै स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर विकास अघि बढाउने उनको प्रतिबद्धता छ।

