

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको वडा नं १० र ८ जोड्ने साप्रेढुंगाको पुलको शिलान्यासमा नेकपा एमाले बुनपाले अनावश्यक राजनीतिक गरेको छ । आफूले नगरेको काममा जस लिनका लागि एमालेले आफ्नो पार्टीबाट प्रतिनिधि सभामा काठमाडौं क्षेत्र नं ४ बाट पराजित उम्मेदवार डा राजन भट्टराईलाई ल्याएर शिलान्यास गराउन सके राजनीतिकरूपमा लाभ मिल्ने योजना बुनेको थियो । तर गगन थापाको पहलमा केन्द्र सरकारबाट आएको बजेटबाट बन्न लागेको सो पुलमा राजनीतिक भएको भन्दै विरोध भएपछि भट्टराई शिलान्यासको लागि आएनन् ।
भट्टराईलाई बोलाएर शिलान्यास गर्ने जानकारी भएपछि काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले विरोध जनाएका थिए । शिलान्यास कार्यक्रममा काँग्रेसले विरोध गर्ने तयारी भएको देखेपछि शिलान्यासको काम नै रोकेर नगरपालिकाको कार्यालयमा सत्ता साझेदार दुई दलको छलफल भएको थियो । जसमा नगरप्रमुख मिठाराम अधिकारी र बागमती प्रदेशसभाको लेखा समितिका पूर्वसभापति समेत रहेका नेपाली कांग्रेसका नेता न्हुच्छेनारायण श्रेष्ठले संयुक्तरुपमा शिलान्यास गर्ने भन्नेमा दुवै पक्ष सहमत भएका थिए ।
के हो साप्रेढुंगा पुलको विवाद र यथार्थ ?
बुनपा ८ र १० जोड्ने साप्प्रेढुंगाको पुल फराकिलो बनाउने योजनाका लागि २०८० साल चैत २५ गते नेपाली काँग्रेसका महामन्त्री समेत रहेका सो क्षेत्रका सांसद गगन थापाले अर्थमन्त्रीलाई पत्र लेखेका थिए ।
त्यतिबेला नेपाली काँग्रेस र नेकपा माओवादीको संयुक्त सरकार थियो । जसमा अर्थमन्त्री थिए काँग्रेसका प्रकाशशरण महत । सो समयमा पुल निर्माणका लागि तीन करोड रुपैयाँ माग गरिएको थियो । साथै, यसबाहेकका अन्य चार परियोजनाका लागि गरी कुल ६२ करोड रूपैयाँको बजेट माग गरिएको थियो ।
अर्थ मन्त्रालयमा तीन करोड र शहरी विकास मन्त्रालयमा एक करोड माग गरी पठाइएकोमा एउटामा ६० लाख र अर्कोमा ८५ लाख रुपैयाँको बजेट रातो किताबमा छापिएको थियो । सोही बजेटको आधारमा पुलहरुको कार्यान्वयन इकाई मकवानपुर रहेको यस सांसद कार्यालयबाट ताकेता गरी स्थलगत सर्भे र माटो परीक्षण समेत भइसकेको छ ।
यो मुद्दामा नेकपा एमालेका कुनै पनि जनप्रतिनिधिहरूको संलग्नताको प्रमाण बाहिर आएको छैन । तर पुलको शिलान्यासको समयमा भने पराजित उम्मेदवार डा भट्टराईलाई बोलाएर जनतामा भ्रम छर्न लागेको भन्दै स्थानीयहरू रुष्ट भएका हुन् । पछि दुई दलीय सहमतिपछि काँग्रेसका नेता कार्यकर्तासहितको उपस्थितिमा मेयर अधिकारी र नेता श्रेष्ठले पुलको शिलान्यास गरे ।
विरोधपछि भट्टराईको नाम आउट !
बुनपाको वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराईले जेठ ५ गते सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ६ गते बिहान ७ बजे डा राजन भट्टराईको प्रमुख आतिथ्यमा सो पुलको शिलान्यास गर्ने कार्यक्रम रहेको भन्दै पार्टीका सबै तहका नेता कार्यकर्ताहरूलाई उपस्थित हुन आग्रह गरे ।
बुनपाकै वडा नं १ का वडाध्यक्ष सुरेन्द्र लामाले पनि सोही व्यहोराको स्टाटस हाले । उनीहरूसँग अन्य धेरै स्थानीय नेताहरूले सो स्टाटस हालेपछि भने काँग्रेसहरू सशंकित बनेका हुन् । पछि काँग्रेसले विरोध गरेपछि वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले स्टाटस लेख्दै डा भट्टराईको नाम नराखी मेयर अधिकारीले शिलान्यास गर्ने बनेर बताएका थिए ।