काठमाडौं खबर पुस ११, २०८१
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १५ मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने तयारी गरेको छ । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
उनले विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने छलफल गरिएको बताए । त्रिविले शैक्षिक क्यालेण्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको छ । निर्देशक अधिकारीले चाँडै नै विद्यार्थी सङ्गठनसँग छलफल गरी निर्वाचनको कामलाई अगाडि बढाउने बताए।
प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित हुन सकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिबेला नौ वटा आङ्गिक क्याम्पस निर्वाचन हुन सकेको थिएन । स्ववियु निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनमा २८ वर्षे उमेर हद बन्दी र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।