काठमाडौं खबर पुस ८, २०८१
काठमाडौं । काठमाडौं क्षेत्र नं ४ का नेपाली काँग्रेसको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई क्षेत्रको विकासमा प्रदेश सरकार उदासीन बनेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । यस क्षेत्रमा रहेका काँग्रेस नेताको नाममा बनेका आयोजनालाई प्रदेश सरकारले बजेटमा बेवास्ता गरेको भन्दै अर्धवार्षिक समीक्षाबाट बजेटमा संशोधन गर्न माग गरेका हुन् ।
प्रदेश सरकार अन्तर्गत चालू आर्थिक वर्ष ०८१/८२ का योजनामा थप रकम माग, विपत् व्यवस्थापनको रकम समेत नगरपालिकामार्फत नआएको गुनासो गरेका छन् । सोमबार राजधानी हेटौंडामा भएको भेटमा प्रदेश सांसद मिना पराजुली, पूर्व प्रदेश सांसद न्हुच्छेनारायण श्रेष्ठसहित गगन थापाको सांसद कार्यालयका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
भेटमा उनीहरूले विभिन्न सामाजिक संघसंस्थालाई दिइँदै आएको बजेट रोकिएको, सुवर्ण शमशेर क्रिकेट स्टुडियो थप लगानी नआएको, गिरिजाप्रसाद कोइराला शान्ति पार्कका लागि बजेट नपरेको जस्ता गुनासो गरेका थिए । भेटमा यदि काँग्रेस नेताहरूको नाममा रहेका यी आयोजनामा प्रदेशले लगानी गर्न नसक्ने भएमा केन्द्रीय परियोजनाबाट बजेट निकासा गर्नका लागि गगन थापा समक्ष आग्रह गर्ने समेत बताएका थिए ।
साथै, टोलीले प्रदेशका आन्तरिक मामला तथा कानुनमन्त्री सुरज चन्द्र लामिछानेसँग पनि भेटेर क्षेत्रको विकासमा बजेट व्यवस्थापनका लागि ध्यानाकर्षण गराएको थियो ।