काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रकाशकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस गर्ने निर्णय गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले आज आकस्मिक पत्रकार सम्मेलन गर्दै काठमाडौं टावरमा गैरकानुनी काम गरेको भन्दै कारबाही गर्न सिफारिस गरिएको बताएका छन् ।
काठमाडौँ टावरको १२ तलाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तलाको नक्सा स्वीकृति दिएको पाइएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ : ‘सोही प्रकयामा १२ तलाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा १९ तलाको संशोधित नक्सा पेस गरेको देखिन्छ। सो नक्सा मिति २०७४ वैशाख ८ गते दुवै पक्षबीच भएको सम्भौताविपरीत भएकाले नक्सा संशोधन प्रकृया रोकिएको थियो। कामपाको आधिकारिक नक्सा पास प्रणाली ईबीपीएस बमोजिम मिति २०८०/११ /२२ देखि प्राविधिक कारणले रोकिएको प्रक्या विद्युतीय नक्सा पास प्रणालीमा मिति २०८१/५/३० गते प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुख हरिशचन्द्र लामिछानेलाई फर्वार्ड गरिएको देखिन्छ।’