काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं ४ का सांसद गगन थापाले धोबी खोला किनारमा २० मिटरको मापदण्ड तत्काल विचाराधीन राख्न मंसिर २ गते नै सरोकारवाला निकायलाई पत्र लेखेको थापाको सचिवालयले जनाएको छ । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातहतका निकायलाई तत्काल २० मिटरको मापदण्ड कार्यान्वयन नगर्न निर्देशन दिएपछि सचिवालयले यसअघि नै थापाले काठमाडौं उपत्यका विकास प्राधिकरण र शहरी विकास मन्त्रालयको जिल्ला आयुक्तको कार्यालयमा पत्र लेखेको विषय स्मरण गराएको हो ।
धोबीखोला किनारका घरमा चिह्न लगाउन उपत्यका विकास प्राधिकरणबाट टोली आएपछि गत मंसिर २ गते थापाको सचिवालयले जिल्ला आयुक्तको कार्यालयलाई पत्र लेख्दै मन्त्रिपरिषद्ले सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन गर्न माग गर्दै निवेदन दिन लागेको अवस्थामा अर्को निर्णय नभएसम्म काम रोक्नका लागि भन्दै पत्र लेखेका थिए ।
त्यस्तै, थापाले प्राधिकरणसँगै शहरी विकास मन्त्री र जिल्ला आयुक्तको कार्यालयमा समेत पुगेर सो काम तत्काल रोक्न माग गरेका थिए । थापाको पहलपछि सो काम तत्काललाई रोकिएको थियो । अहिले सोहीबमोजिम प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएको हो ।