काठमाडौं । ठूलो एकादशीको रूपमा चिनिने हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बुढानीलकण्ठमा विशेष मेला लागेको छ । आजदेखि चार दिनसम्म चल्ने मेलामा काठमाडौं उपत्यका र उपत्यकाबाहिरबाट समेत श्रद्धालु भक्तजनहरू दर्शनका लागि बुढानीलकण्ठ मन्दिरमा दर्शन गर्नका लागि आउने गर्दछन् । कात्तिक २७ गतेदेखि ३० गतेसम्म मन्दिरमा विशेष मेला लाग्ने बुढानीलकण्ठ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएर कात्तिक शुक्ल एकादशीका दिन तुलसी विवाह गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । बुढानीलकण्ठ मन्दिरमा शयनासन अवस्थामा रहेका विष्णु आज ब्युँझिने भएकाले भगवानको दर्शनका लागि श्रद्धालु आउने गरेका हुन् ।
आजका दिन विभिन्न स्थानमा भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।