काठमाडौं । मंसिरमा हुने उपनिर्वाचनमध्ये सबैभन्दा चासोको क्षेत्र हो, कीर्तिपुर नगरपालिका । निर्वाचनमध्ये सबैभन्दा ठूलो पद नै यही नगरपालिकाको मेयर भएका कारणले पनि यो निर्वाचनमा धेरैको चासो देखिएको हो । कीर्तिपुरका मेयर राजकुमार नकर्मीको क्यान्सरका कारण २०८१ साउन ११ गते निधन भएकाले सो स्थान रिक्त छ। यसअघि नेपाली काँग्रेसको तर्फबाट चुनाव जितेका उनको निधनपछि सो क्षेत्रमा नेपाली काँग्रेसले अझैसम्म पनि उम्मेदवार उठाउन सकेको छैन।
तर काँग्रेसबाहेकका ठूला दलहरूले भने उम्मेदवार उठाइसकेको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्रले प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने भएको छ । सोमबार बसेको माओवादी केन्द्र कीर्तिपुर नगर समितिको बैठकले महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो।
यसअघि नै सत्तारुढ दल नेकपा एमालेले भने कीर्तिपुरका लागि यसअघि नै डा. सुरेन्द्र मानन्धरलाई मेयरको उम्मेदवार तोकिसकेको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
यस्तै क्यान्सरकै कारण कीर्तिपुर-१ का वडाध्यक्ष हीरालाल महर्जनको २०८० फागुनमा तथा मोटरसाइकल दुर्घटनामा परी वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको २०८० वैशाखमा निधन भएकाले त्यहाँ पनि उपचुनाव हुँदै छ। अर्को चुनाव हुन अझै एक वर्षभन्दा बढी समय भएकाले रिक्त स्थानमा निर्वाचन आयोगले उपचुनाव गराउन लागेको हो।