काठमाडौं । सिंगो देश सहकारी ठगीका विषयमा केन्द्रित हुँदा बुढानीलकण्ठ नगरपालिकाका दुई वडाध्यक्ष लामो समयदेखि सहकारी ठगीमा मुद्धा खेपेर पनि राजाको राँगो फुकेझैं हिँडिरहेका छन् । बुढानीलकण्ठ नगरपालिकालगायत बिबिध शक्ति केन्द्रका आडमा दुईवडाध्यक्षसहित एक कार्यपालिका सदस्य सहकारी ठगीमा प्रकाउ पुर्जीपश्चात पनि बेरोकटोक हिँडिरहेका छन् । सहकारी पिडीतहरू शक्ति केन्द्रको साथ नरहने हो भने बुढानीलकण्ठ नगरपालिका वडा नं ६ र ७ का वडाध्यक्ष रवि खड्का तथा बसनारायण महर्जन यतिखेर जेलमा हुनपर्थ्यो भन्ने गर्छन् ।
पटक पटक पक्राउ पुर्जी जारी भैसकेका यी दुई वडाध्यक्षसहित एक कार्यपालिका सदस्यले भद्रकाली कृषि सहकारी संचालनका क्रममा स्थानीवासीको लाखौं रकम हिनामिना गरेको आरोप छ । बसनारायण महर्जन अध्यक्ष तथा रवि खड्का सचिव रहेको भद्रकाली कृषि सहकारीले तीनवर्षदेखि कमजोर आय भएका व्यक्तिहरूले जम्मा गरेको पैसा हिनामिना गरेको आरोप छ । सहकारी ठगीपश्चात पनि उनीहरू ठाँटले जनप्रतिनिधि बनेर बसिरहेका छन् ।
सहकारीमा जम्मा गरेर पैसा नपाएकाहरूको उजुरीमा वडाध्यक्षहरूलाई पक्राउ पुर्जी जारीहुँदा १ वर्षअघि नै नगरपालिका मेयर मिठाराम अधिकारीले उनीहरूलाई लामो समय लुकाएर राखेको पिडितहरूो आरोप छ ।
मिठाराम अधिकारी स्वयम् पनि मेयर भएर आफ्नै घरमा सहकारी संचालन गरेर अध्यक्ष बनिरहेका छन् । मेयर अधिकारीले वडाध्यक्षहरूलाई प्रहरीबाट बचाउन लुकाएर राखेका कुरा सार्वजनिकरूपमा मिडियामासमेत आएको थियो । दुवै वडाध्यक्ष नेकपा एमालेबाट बिजयी भएकाले उनीहरुलाई बचाउन स्वयम् इश्वर पोखरेल लागेको कुरा चर्चामा रहँदा भद्रकाली सहकारी डुबाउनमा एमाले जिल्ला अध्यक्ष तथा पूर्व प्रदेश सांसद दीपक निरौलाको विशेष हात रहेको पनि चर्चा छ । निरौला स्वयम् पनि कुनैबेला यस सहकारीका अध्यक्ष थिए ।
कृषि सहकारीका नाममा बसनारायण श्रेष्ठ अध्यक्ष भएपछि भद्रकाली सहकारीले स्थानीयवासीका पैसा उठाउने काम गरेका थिए । यस सहकारीले गाईपालन तथा दुध संकलनका लागि अनुदानसमेत लिएको छ । अनुदानको बजेटलाई पनि आगलागीको बहानामा सामसुम पारेर बजेट झ्वाम पारेको स्थानीयवासीले आररोप लगाउँदै आएका छन् ।
साना-साना पैसा जम्मा गरेका एक दर्जन पिडीतले पैसा उठाई पाउँ भनी लगातार बिभिन्न निकाय धाउँदा पनि पैसा उठ्न नसकेपछि उनीहरू बाध्य भएर प्रहरी तथा अदालत पुगका थिए । तर अदालतलाईसमेत बिभिन्न बहानामा प्रभावित पारेर स्थानीयको पैसा दिन वडाध्यक्षले द्वयले मानिरहेका छैनन् ।
नगरपालिकाको वडाध्यक्ष नै सहकारी ठगीमा परेर मिडियामा आएपछि यसबारे बुढानीलकण्ठमा भएको एक सार्वजनिक सुनुवाइमा विपक्षी दलले कुरासमेत उठाएको थियो । १ वर्षअघि भएको सो सुनुवाइमा वडाध्यक्ष तथा भद्रकाली कृषि सहकारीका सचिव रवि खड्काले दावी गर्नेहरूको पैसा तिरिदिने बताएका थिए । उनीहरूले कतिपय मिडियामा पनि दावी गरेर आउने व्यक्तिहरूको पैसा तिर्न आफूहरू तयार भएको भनेका छन् । प्रहरीमा पनि उनीहरूले तिरिदिने भनेर कागज गरेका छन् । तर वर्षौंदेखि तिरिदिने भन्दै उम्किने यद्यपि नतिर्ने उनीहरूको नियत नै रहेको पिडीतहरूले बताउने गरेका छन् ।
यसैबीच गत कार्तिक ११ गते काठमाडौं जिल्ला अदालतले वडाध्यक्षद्वय तथा एक कार्यपालिकी एक महिला सदस्यलाई १५ दिने म्याद दिएर पैसा तिर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधिश डा. दिवाकर भट्टले ठगी शीर्षकमा दिएको आदेशानुसार जाहेरवालाहरूको खातामा जम्मा गरी सोको भौचरसमेत संलग्न गराई बिगो रकम बुझेको जाहेरवालाहरूको सनाखत बयान पेश गर्नु भनेर लेखिएको छ । सो आदेशमा जाहेरवालाको सनाखत बयान पेश गर्नसमेत भनिएको छ ।
जाहेरवालाहरू मुद्धा फिर्ता नलिने मुडमा
सहकारी ठगीमा परेका व्यक्तिहरूलाई पार्टीले टिकट दिएर चुनाव जिताएर सर्वसाधारणलाई वर्षौंदेखि दुःख दिएको भन्दै पिडीतहरू मुद्धा फिर्ता नलिने मुडमा देखिएका छन् । पैसा तिरे पनि मुद्धा फिर्ता नलिने र दुःख दिनेहरूलाई सजाय हुनुपर्ने उनीहरूको माग रहेको छ । काठमाडौंखबरसँग कुरा गर्दै पिडीतहरूले मुद्धा फिर्ता नगर्ने र उनीहरूमाथि कडा कार्बाही हुनुपर्ने बताएका छन् । ठगीमा संलग्न जनप्रतिनिधि कारबाहीको भागिदार हुनैपर्ने भएकाले मुद्धा फिर्ता नगर्ने अडान राखे । यसैबीच वडाध्यक्षद्वय महर्जन तथा खड्काले पिडीतहरूलाइ मुद्धा फिर्ता गर्न बिभिन्न मौखिक लोभलालचका साथै धाकधम्की दिएको पिडीतहरूले बताएका छन् ।