

काठमाडौं । पशुपति गौशाला धर्मशालाको विवाद समाधानका लागि आज पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक बस्ने भएको छ । आइतबार बिहान ९ बजे मन्त्रालयको सभाकक्षमा परिषद् बैठक बस्न लागेको हो । कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा बैठक बस्न लागेको हो ।
काठमाडौँ जिल्ला अदालतले श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच विसं २०६० मा भएको धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत ल्याउने प्रक्रियामा छ । काठमाडौं महानगरपालिकाले धर्मशालामा महानगरको बोर्ड समेत टाँगी सकेको छ । यद्यपि तत्काल धर्मशाला खाली नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएर उच्च अदालत पाटनले दुवै पक्षलाई सोमबार छलफलका लागि बोलाएको छ ।
यसैबिच कोषले काठमाडौँ महानगरपालिकालाई धर्मशाला व्यवस्थापन गर्ने गरी सहमति गरेको थियो । त्यसअनुसार महानगरपालिकाले धर्मशाला प्रवेश गर्न खोज्दा मारवाडी समितिले रोकेर विरोध जनाउँदै आएको छ ।