काठमाडौं खबर अशोज १४, २०८१
काठमाडौं । गत शुक्रबार र शनिबार भएको भीषण वर्षाका कारण आएको बाढी पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं ४ का सांसद गगन थापाले निरीक्षण गरेका छन् ।
बुढानीलकण्ठ नगरपालिका वडा नं ८ भित्रका प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी तत्काल राहत तथा पुनर्स्थापनाको लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । वडाभित्रका बासिन्दालाई तत्काल राहत र उद्धारको लागि पहल होस् भन्ने उद्देश्यले महामन्त्री थापालाई निरीक्षणमा बोलाइएको नेपाली काँग्रेस बुनपा ८ का सभापति राजाराम थापाले जानकारी दिए ।
सरोकारवाला निकायसँग समेत तत्काल छलफल गरी उनले प्राकृतिक विपत्ति मान्छेले रोक्न नसकिने भन्दै विपद् पूर्वको सतर्कता र विपद्बाट प्रभावितलाई पुनर्स्थापनामा सबै पक्षको सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उनले प्रभावितलाई तत्काल र दीर्घकालसम्म कसरी राहत र उद्धार गर्न सकिन्छ भन्नेबारे सम्बन्धित निकायमा पहल गर्ने बताएका हुन् ।